प्रचण्डलाई गृहमन्त्रीको कटाक्षः ‘सरकारलाई धन्यवाद दिन तयार भएर बस्दा हुन्छ’
काठमाडौँ– गृहमन्त्री रमेश लेखकले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई कटाक्ष गर्दै ‘सरकारलाई धन्यवाद दिन तयार भएर बस्दा हुन्छ’ भनेका छन्।
प्रतिनिधिसभाको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा शेरा दरबारको जग्गाबारे प्रश्न उठेपछि त्यसको जवाफ दिने क्रममा गृहमन्त्री लेखकले दाहालप्रति कटाक्ष गरेका हुन। सरकारले गैरकानूनी काम गर्ने कसैलाई नछाड्ने उनको भनाई छ।
एमालेका सांसद वासुदेव घिमिरेले गृहमन्त्रीलाई शेरा दरबारको जग्गाबारे सोधेपछि प्रचण्डले छानबिनमा सहयोग गर्न तयार रहेको बताएका थिए। आफ्नो नाम मुछिएको प्रकरणमा दाहालले भनेका थिए–‘राज्यको जमिन व्यक्तिको नाममा गएको छ भने कानून बमोजिम ल्याउनुपर्छ। छानबिन गर्दै जाँदा प्रचण्ड नै देखिएको छ भने पनि छानबिनको दायरामा ल्याऊँ।’
ललिता निवास जस्तै शेरा दरबारको जग्गा पनि कानूनविपरीत भए सरकारको नाममा फिर्ता ल्याए म यसलाई सहयोग गर्छु, र धन्यवाद पनि भन्छु।’ दाहालको यही भनाईको जवाफ दिदै गृहमन्त्री लेखकले शेरा दरबारको जग्गाबारे अनुसन्धान भइरहेको बताए।
‘अहिले अनुसन्धान भइरहेको छ। कानून बमोजिम कारबाही हुन्छ। कुनै व्यक्ति र कम्पनीको नाममा गएको छ भने फिर्ता हुन्छ। समितिका सदस्य एवं आदरणीय हाम्रो नेता पुष्पकमल दाहाल प्रचण्डलाई पनि धन्यवाद दिन चाहन्छु’ उनले भने–‘उहाँले सरकारलाई धन्यवाद दिन तयार भएर बस्नुभएको छ। सरकारले गर्नुपर्ने काम गर्छ र धन्यवाद दिन तयार भएर बस्दा हुन्छ।’
