सुनसरीमा भीम रावल प्रमुख अतिथि रहेको कार्यक्रम एमालेको दबाबमा स्थगित, भरौल पुगेर फर्किए रावल

विराटनगर– नेकपा एमालेले कारबाही गरेपछि पहिलो पटक प्रदेश १ को कार्यक्रममा सहभागि हुन आएका नेता भीम रावल कार्यक्रम स्थलमै नपुगी फिर्ता भएका छन्।
आज हुने भनिएको कार्यक्रम २२ पुसका लागि सरेको भन्दै आयोजनकले सूचना दिएपछि उनी बाटैबाट फिर्ता भएका हुन।
रावल भरौल भेट्रान क्लबले आयोजना गर्ने अन्तर्राष्ट्रिय आमन्त्रण भरौल भेट्रान गोल्ड फुटबल प्रतियोगिताको उद्घाटनका लागि सुनसरी आएका थिए। तर उनले उद्घाटन गर्ने भनिएको कार्यक्रम २२ पुसका लागि सारिएको छ।
विमल कार्की अध्यक्ष रहेको आयोजक क्लवले १८ पुसमै प्रतियोगिता उदघाटन कार्यक्रम २२ गते गर्ने निर्णय गरेको थियो। आयोजक एउटा पक्ष भने रावललाई स्वागत गर्नका लागि विराटनगर पुगेको थियो। विराटनगर विमानस्थलबाट रावललाई आयोजकले आफ्नै गाडीमा भरौल पु¥याएका थिए।
तर उद्घाटन सरेपछि उनी भरौल चोक पुगेर फर्किए। स्रोतका अनुसार रावलले उदघाटन गर्ने भएपछि नेकपा एमाले नेताहरूले दबाब प्रतियोगिताको उद्घाटन कार्यक्रम सारिएको हो। रावललाई विराटनगरमा नेकपा एकीकृत समाजवादी र दुर्गा प्रसाईंका समर्थकले स्वागत गरेका थिए।
उनलाई विमानस्थलमा स्वागत गर्न नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य वसिल आलमसहित नेता तथा दुर्गा प्रसाईंले नेतृत्व गरिरहेको ‘राष्ट्र, राष्ट्रियता, धर्म संस्कृति र नागरिक बचाउ अभियान’का सदस्य सतिश पोखरेल लगायतका नेताहरु पुगेका थिए।
पोखरेल दुर्गा प्रसाईंले सुरु गरेको अभियानको केन्द्रीय सदस्य र राजावादी हुन्। भीम रावल निकट स्रोतका अनुसार रावललाई स्वागत गर्नका लागि एकीकृत समाजवादी पार्टीको युवा नेताहरूलाई बोलाइएको थियो। तर राजतन्त्रको पक्षधर पोखरेल भने आफ्ना केही सहयोगीसहित पुगेका थिए।