सहकारीको पैसामा गाडी किनेर जीबी र रवीको मस्तीः फेला पर्‍यो सहकारीको पैसा तिर्न रविले काटेका १६ वटा चेक

काठमाडौँ– काठमाडौँको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारीमा बचतकर्ताको रकम हिनामिना प्रकरणमा आईतबार जिल्ला अदालत, काठमाडौंमा अभियोग पत्र दायर भएको छ। प्रहरीले गरेको अनुसन्धानका आधारमा जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले मुद्दा दायर भएको हो।

अनुशन्धानका क्रममा स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडमा अनियमितता भएको १ अर्ब १९ करोडमध्ये ५ करोड ७८ लाख ९६ हजार रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको भेटिएको छ। अभियोगपत्रमा गितेन्द्रबाबु (जिबी) राई नेतृत्वको आपराधिक समूहबाट सहकारीबाट प्रत्यक्ष रुपमा २ करोड ६६ लाख र विभिन्न व्यक्तिका नाममा फर्जी खाता खडा गरेर २ करोड १३ लाख ९६ हजार रुपैयाँ गरी ५ करोड ७८ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा लगिएको खुलेको हो।

अभियोग पत्रमा गोर्खा मिडिया नेटवर्क प्रा.लि.मा विभिन्न समयमा अध्यक्ष गितेन्द्रबाबु राई, पूर्वसञ्चालक÷उपाध्यक्ष छविलाल जोशी, पूर्वनिर्देशक रवि लामिछाने र उपाध्यक्ष कुमार रम्तेलको प्रत्यक्ष संलग्नता र निर्देशनमा कानून विपरीत सहकारीको पैसा गोर्खा मिडिया नेटवर्कमा गएको उल्लेख छ।

लामिछानेसहितको समूह संगठित रुपमा सहकारीको रकम हिनामिना गरी ठगी गर्ने कार्यमा प्रत्यक्ष संलग्न देखिएको निष्कर्षसहित लामिछाने, जोशी, रम्तेलसहित ३९ जनाविरुद्ध संगठित ठगीको कसुरमा सजाय मागदाबी गर्दै सरकारी वकिलले अदालतमा मुद्दा दर्ता गरेको हो।

लामिछाने २३ असोज ०७८ मा गोर्खा मिडियामा १६ प्रतिशत शेयरसहित प्रबन्ध निर्देशक एवं सञ्चालक नियुक्त भएका थिए। हाल लामिछानेले आफू सहकारीबाट टिभीमा आएको रकमको जिम्मेवारी लिन तयार भए पनि सहकारीसँगको आर्थिक कारोबारमा संलग्न नरहेको जिकिर गर्दै आएका छन्।

तर, स्वर्णलक्ष्मी सहकारीबारे अनुसन्धान गरिरहेको प्रहरीले सहकारीको नाममा काटिएका र लामिछानेको हस्ताक्षर रहेका १६ वटा चेक फेला पारेको छ। लामिछानेको हस्ताक्षर भएको चेकमार्फत ९० लाख १६ हजार ६६० रुपैयाँ सहकारीलाई भुक्तानी गरिएको छ।

अभियोग पत्रमा लामिछानेको हस्ताक्षर रहेको केही चेक र जारी मिति समेतका विवरण समावेश गरेको छ। प्रहरीले सरकारी वकिलको रोहबरमा लामिछानेसँग बयान लिँदा ती चेकहरू समेत देखाएको थियो। त्यसक्रममा लामिछानेले आफू चेकको हस्ताक्षरकर्ता हुनुको अर्थ निश्चित समयमा काम सम्पन्न गर्न बाधा नपुगोस् भन्नका लागि मात्र भएको दाबी गरेका छन्। उनको तात्पर्य आफुले खाली चेकमा हस्ताक्षर गरेर छोड्ने गरेको भन्ने थियो।

प्रहरीले भने गोर्खा मिडिया नेटवर्कको ग्लोबल आईएमई बैंकको खातामा सहकारीबाट २ करोड ६५ लाख रुपैयाँ सिधा निक्षेप हुँदा उनी कम्पनीको शेयर सदस्य र प्रबन्ध निर्देशक भएर काम गरिरहेको भन्दै ठगीमा संलग्नता देखिने जिकिर गरेको छ।

यता, जीबी राई र रवि लामिछानेले गाडी खरिद गर्न समेत सहकारीको रकम प्रयोग गरेको फेला परेको छ। गाडी खरिदका लागि दुई पटक ऋण निकासा गरिएको छ। पहिलो पटक ४ भदौ २०७८ मा ‘फोर ह्वीलर लोन’ भन्दै ४६ लाख ९८ हजार र दोस्रो पटक १ पुस २०७८ मा ‘ईको ७ सिटर’ भ्यान खरिद गर्न ऋण लिएका छन्।

लामिछाने र राईले चार पांग्रे कर्जाका लागि भनेर सहकारीमा ऋण खाता खोलेर त्यसका लागि निवेदन दिएको प्रहरीले उल्लेख गरेको छ। ‘निवेदनमा आफूहरूले सही, छाप समेत नगरी सो खातामा ४६ लाख ९८ हजार रकम जम्मा गर्न लगाएर त्योमध्ये ३२ लाख ८८ हजार ६०० रुपैयाँ र १४ लाख ९ हजार ४ सय रुपैयाँ नारायणी अटो विजनेश प्रा.लि.लाई चेकमार्फत भुक्तानी गरेको देखिन्छ’, अभियोग पत्रमा भनिएको छ।

७ सिटर ईको भ्यान खरिद गरेर गाडी गोर्खा मिडिया नेटवर्क प्रा.लि.ले प्रयोग गरेको र सो ऋण प्रतिवादी रवि लामिछानेले गोर्खा मिडिया नेटवर्कको नाममा ग्लोबल आईएमई बैंक लि.को खाताबाट जारी भएको चेकमार्फत स्वर्णलक्ष्मी सहकारीको कुमारी बैंक लि.मा रहेको खातामा भुक्तान गरेको देखिएको अभियोग पत्रमा उल्लेख छ।

रवि लामिछाने अहिले कास्की प्रहरीको हिरासतमा छन्। पोखराको सूर्यदर्शन सहकारी ठगीमा संलग्न रहेको आरोपमा प्रहरीले लामिछानेलाई २ कात्तिक २०८१ मा वनस्थलीस्थित रास्वपा मुख्यालयबाट पक्राउ गरेको थियो। सूर्यदर्शन सहकारी प्रकरणमा जिल्ला अदालत, कास्कीमा थुनछेक बहस चलिरहेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट