शिक्षिकाले हानेको लठ्ठीले लागेर युकेजीमा पढ्ने ६ वर्षीय बालकको आँखा फुट्यो, शिक्षिका फरार

नवलपरासी– पश्चिम नवलपरासीमा एक शिक्षिकाको कुटाइबाट यूकेजीमा पढ्ने ६ वर्षीय बालकको आँखा फुटेको घट्ना एक महिनापछि सार्वजनिक भएको छ।

प्रतापपुर गाउँपालिका–१ मा रहेको एच पाठशालाकी शिक्षिका सन्जु चौधरीले हानेको प्लाष्टिकको लठ्ठीले लागेर बालक प्रशान्त चौधरीको बायाँ आँखा फुटेको घट्ना अहिले आएर सार्वजनिक भएको हो।

घटना १८ मंसिरमा भएपनि एक महिनापछि मात्रै प्रहरीमा उजुरी पुगेको छ। १९ पुसमा शिक्षिकाविरुद्ध अदालतबाट पक्राउ पुर्जी जारी भएको छ। तर, उनी फरार भएकी छिन्।

प्रहरीका अनुसार कक्षामा पढाइ भईरहेको थियो। दुईजना विद्यार्थीको झगडा परेपछि शिक्षिकाले प्लास्टिकको पाइपले हान्दा झुक्किएर आँखामा लागेको विद्यालयका प्रिन्सिपल सुजितकुमार गुप्ताले प्रहरी समक्ष वयान दिएका छन्।

घाईते बालकलाई रणअम्बिका आँखा अस्पताल भैरहवा हुँदै काठमाडौंको तिलगंगा आँखा अस्पताल पु¥याइएको थियो। मंसिर १९ गते तिलगंगामा आँखाको अप्रेशन भयो। तर, नानी फुटेकाले आँखा देख्न नसक्ने चिकित्सकले बताएको प्रशान्तका बुवा नरेन्द्रप्रसाद चौधरी बताए।

उनका अनुसार वायाँ आँखाको चोटको असर दायाँ आँखामा पनि देखिएको छ। ‘त्यो आँखा पनि राम्रोसँग खोल्न र हेर्न मिल्दैन’ उनले भने–‘चिकित्सकले एक वर्षसम्म उपचार गर्नुपर्छ। अझै दुईटा अप्रेसन हुन्छ भनेका छन्।’

काठमाडौंमा बालकको उपचार गराएर फर्किएपछि नरेन्द्रले पुस १६ गते उपचारका कागजातसहित इलाका प्रहरी कार्यालय बर्दघाटमा शिक्षिका सन्जुविरुद्ध उजुरी दिएका छन्। त्यसलगत्तै अनुसन्धान प्रक्रिया अघि बढाएको नवलपरासी पश्चिमका डिएसपी रेशम बोहराले जानकारी दिए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट