राजविराजको मधेश कृषि विश्वविद्यालयका विद्यार्थी आन्दोलित, शैक्षिक भवनमा तालाबन्दी

राजविराज — सप्तरीको राजविराज–३ स्थित मधेश कृषि विश्वविद्यालयमा विद्यार्थीहरूले आइतबार तालाबन्दी गरेका छन्। पठनपाठनमैत्री कक्षाकोठा न भएको, बढि शुल्क असुलेको तर रसिद नदिएको र प्रयोगात्मक कक्षा नियमित नभएको भन्दै तालावन्दी गरिएको हा।
समस्याका विषयमा पटक–पटक गुनासो गर्दासमेत सुनुवाइ नभएपछि तालावन्दी गर्नु परेको बीएसी एजी पाँचौं तहमा अध्ययनरत अभिषेककुमार यादवले वताए। चर्को गर्मीमा जस्ताले छाएको कोठामा कक्षा सञ्चालन भइरहेकाले पठनपाठन प्रभावित भएको उनको भनाई छ। ‘एक त प्रचण्ड गर्मी, त्यसमाथि जस्ताको छानो। चार÷पाँच वटा पंखा चल्दा हुने आवाजले पछाडि बसेका विद्यार्थीले शिक्षकले के पढाउँदै छन् सुन्नै सक्दैनन्,’–उनले भने।
विद्यार्थीहरूले विश्वविद्यालय प्रशासनलाई बारम्बार मौखिक र लिखित रूपमा गुनासो गर्दा पनि कुनै सुनुवाइ नभएपछि तालाबन्दीमा जान बाध्य भएको बताएका छन्। उनीहरूले कक्षा कोठामा डेस्क–बेञ्चको अभाव, फ्यानको आवाजका कारण हुने ध्वनि प्रदूषण, गर्मीका कारण कक्षा सहनै नसक्ने अवस्था रहेको गुनासो गरेका छन्।
विद्यार्थीहरूले केही महिनाअघि सार्वजनिक गरिएको सूचनाअनुसार ३ लाख २० हजार रुपैयाँ शुल्क निर्धारण गरिएको भए पनि पछिल्लो समय ४ लाख ५० हजार रुपैयाँसम्म लिएको आरोप लगाएका छन्। उनीहरूले शुल्कको रसिद पनि नदिइएको र प्रयोगात्मक कक्षा नियमित रूपमा नचलाइएको गुनासो गरेका छन्।
विद्यार्थीहरूले आफ्ना माग सम्बोधन नभएसम्म तालाबन्दी नखोल्ने अडान लिएका छन्। उनीहरूको मुख्य मागहरूमा शैक्षिक वातावरणमैत्री पूर्वाधार निर्माण, तोकिएकोभन्दा बढी शुल्क असुली बन्द गर्नुपर्ने, बढी लिएको शुल्क फिर्ता गर्नुपर्ने, नगद रसिद अनिवार्य दिनुपर्ने, र प्रयोगात्मक कक्षा नियमित सञ्चालन गर्नुपर्ने रहेका छन्।
क्याम्पस शैक्षिक प्रमुख नवनित महतोले विद्यार्थीहरूको गुनासोबारे जानकार रहेको बताउँदै श्रोत–साधनको अभावले कहिलेकाहीँ प्रयोगात्मक कक्षा प्रभावित हुने गरेको जानकारी दिए। उनले शुल्कसम्बन्धी सूचनामा त्रुटि भएको र बैंकमार्फत शुल्क बुझ्दा रसिद नदिएको स्पष्ट पारे।
विश्वविद्यालयका रजिस्ट्रार डा. श्रीभगवान ठाकुरले विद्यार्थीहरूसँग समन्वय गर्दै तालाबन्दी हटाउन पहल भइरहेको जानकारी दिएका छन्।