‘हनुमाने स्वागत’ का कारण विवादमा परे स्वर्णिम वाग्ले, को हुन उडेर स्वागत गर्ने सुपरम्यान विद्यार्थी ?

काठमाडौंँ– देश र जनताको अवस्था परिवर्तन गर्ने र भ्रष्टाचार निर्मुल गर्ने कर्णप्रिय नारा दिएर राजनीतिमा उदाएका राजनीतिक दलको नेताको कृयाकलाप देख्दा ‘जुन जोगी आए’नी कानै चिरेको’ भने जस्तै हुन थालेको छ।

ती मध्येका एक हुन– राष्ट्रिय स्वतन्त्र पार्टीका नेता स्वर्णिम वाग्ले। उनको नाममा अहिले सामाजिक सञ्जालमा निकै खैलाबैला छ। शनिबार तनहुँको रामशाह माविको ५४औं वार्षिकोत्सवमा सहभागि भएका उनलाई स्वागतका लागि गरिएको तयारीका विषयमा आलोचना भईरहेको छ।

आँबुखैरेनी गाउँपालिका–३ मा रहेको सो विद्यालयको वार्षिकोत्सव कार्यक्रमका प्रमुख अतिथि हुन पोखराबाट तनहुँ पुगेका उनलाई स्वागत गर्ने तरिका पनि निकै भिन्न थियो। विद्यालयमा पुगेलगत्तै ‘सुपर म्यान’ जसरी जिपलाइनबाट एक विद्यार्थीले उनलाई माला लगाएकी थिइन्। यसैगरी सुपरम्यान बनेकी अर्की विद्यार्थीले वाग्लेमाथि पुष्पवृष्टि गरेकी थिइन्।

पुष्पवृष्टि गर्ने विद्यार्थी कक्षा ८ मा र माला लगाउने विद्यार्थी कक्षा ७ मा अध्ययनरत छन्। उनीहरुले विद्यालयको चौथो तलामाथिबाट जिपलाइनमार्फत झुण्डिएर वाग्लेसहितका अतिथि भएको स्थानमा पुगेर फूलको वर्षा गराएका थिए। त्यसरी जोखिम मोलेर स्वागत कार्यक्रम राखेको भन्दै अहिले विद्यालय र वाग्लेको आलोचना भइरहेको छ। पिर्के सलामी र हनुमाने स्वागत एकै भएको भन्दै धेरैले आलोचना गरेका छन्।

तर, रामशाह माविका प्रधानाध्यापक प्रेमराज लामिछाने भने ‘दुर्घटनाको सम्भावना नै नभएको’ भन्दै प्रतिरक्षामा लागेका छन्। ‘हामीले सबै पूर्वतयारी गरेका थियौं। उहाँहरु स्काउटको तालिमप्राप्त विद्यार्थी हो। स्काउट मास्टरले तयारी गराउनु भएकाले बाहिर भनेजस्तो कुनै जोखिम थिएन।’– उनले भनेका छन्।

सांसद स्वर्णिम वाग्ले उक्त स्वागतपछि रमाएको पनि उनले बताए।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट