सरकारमा पालोः नवलकिशोर साह र प्रदीप यादव आउट, रञ्जु ठाकुर र वीरेन्द्र महतोलाई मन्त्री बन्ने मौका

राजविराज – अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) ले संघीय सरकारमा रहेका आफ्ना दुई मन्त्रीलाई फिर्ता बोलाउने निर्णय गरेको छ। पार्टीले महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडी र खानेपानी मन्त्री प्रदीप यादवलाई पदबाट राजीनामा दिन निर्देशन दिएको हो।

पार्टीका उपाध्यक्ष परशुराम बस्नेतका अनुसार निर्णयबारे प्रधानमन्त्री कार्यालयलाई आधिकारिक जानकारी गराइसकिएको छ। उनका अनुसार ११ भदौभित्र दुवै मन्त्रीले राजीनामा दिनेछन् र त्यसपछि पार्टीले सिफारिस गरेका डा. वीरेन्द्र महतो र रञ्जु झा (ठाकुर) नयाँ मन्त्रीका रूपमा सरकारमा सहभागी हुनेछन्।

‘सरकारमा पठाइएका प्रदीप यादव र नवलकिशोर साहलाई एक वर्षको अवधिका लागि जिम्मेवारी दिइएको थियो। उनीहरू सो भन्दा बढी समय रहिसकेकाले अब नयाँ अनुहारलाई अवसर दिने निर्णय गरिएको हो।’– वस्नेतले भने।

यसअघि जसपा नेपाल सरकारमा सहभागी हुँदा डा. वीरेन्द्र महतो वनमन्त्री भइसकेका थिए। रञ्जु झा भने अघिल्लो पटक विना विभागीय मन्त्रीमा सिफारिस भए पनि तत्काल मन्त्री नबन्ने निर्णय गरेकी थिइन्।

वन तथा वातावरण मन्त्री नवलकिशोर साह विवादास्पद छविका नेता मानिन्छन्। मधेश प्रदेशमा सामाजिक विकास मन्त्री हुँदा स्वास्थ्य सामग्री खरिददेखि योजनामा ठूलो अनियमितता गरेको आरोपसहित उनी चर्चामा आएका थिए।

त्यस्तै, ०७६ असारमा मन्दिर निर्माणमा कमिसनको खेल गरेको भन्दै उनलाई आफ्नै गृहनगरमा सर्वसाधारणले लखेटेका थिए।

त्यस्तै, सांसद रञ्जु झा नेकपा एमाले हुँदै जसपा नेपालमा आएकी हुन्। एमालेको अखिल नेपाल महिला संघमा रहँदा उनी तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी निकट मानिन्थिन्। त्यसै पृष्ठभूमिबाट उनी सांसद हुँदै महिला तथा समाज कल्याण समितिको सभापतिसम्म पुगेकी थिइन्।

तर, अध्यक्ष उपेन्द्र यादवको कार्यशैली गलत भएको आरोप लगाउँदै अशोक राई पक्षीय सांसदहरूले नयाँ पार्टी दर्ता गर्दा उनी राईको पक्षमा खुलेकी हुन। फिर्ता बोलाईएका मन्त्री नवलकिशोर र मन्त्री बन्ने तयारीमा रहेकी रञ्जु दुवै सप्तरीका बासिन्दा हुन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट