४० भन्दा बढी केक काटेर कांग्रेस नेताले मनाए जन्मदिन, महामन्त्री गगन थापा प्रमुख अतिथि

राजधानी– नेपाली कांग्रेसका महामन्त्री गगन थापाको उपस्थितिमा रामेछापका कांग्रेस नेता भरतप्रसाद चौंलागाईंले एकैपटक ४० भन्दा बढी केक काटेर जन्मदिन मनाएका छन्। जन्मदिनमा पार्टीको झण्डा अंकित विशेष केकसमेत राखिएको थियो।
यसरी, भड्किलो शैलीमा आयोजना गरिएको उक्त कार्यक्रममा कांग्रेस महामन्त्री थापा प्रमुख अतिथि थिए। जन्मदिनमा स्थानीय कार्यकर्ता, नेता तथा समर्थकहरूको बाक्लो उपस्थिति देखिएको थियो।
गत महिना राजधानीको महाराजगञ्ज क्षेत्रमा चक्रे मिलनले जन्मदिन भव्य पार्टीसहित मनाउँदा ५० भन्दा बढी पक्राउ परेका थिए। त्यसयता भड्किलो शैलीमा जन्मदिन मनाउने प्रवृत्तिप्रति प्रहरी प्रशासनले कडाइ गर्न थालेको छ ।
यद्यपि, कांग्रेस नेताले नै यस्तो प्रकारको भड्किलो शैलीमा जन्मदिन मनाएको र त्यसमा महामन्त्री स्तरका नेता प्रमुख अतिथि बनेको घटनाले सामाजिक सञ्जालमा ठूलो आलोचना भइरहेको छ। कतिपयले राजनीतिक नेताले नै साधारण जीवनशैली देखाउनुपर्नेमा यस्तो प्रदर्शनले समाजमा नकारात्मक प्रभाव पार्ने टिप्पणी गरेका छन्।