वोर्डिङ स्कुलका लेखापालको कुटाइबाट ९ मा पढ्ने विद्यार्थीको कानको जाली फुट्यो

काठमाडौँ– दाङको एक वोर्डिङ स्कुलका लेखापालले विद्यार्थीलाई कुटेर कानको जाली नै फुटाई दिएका छन्।
लमही नगरपालिका– ८ सतबरियास्थित ग्यालेक्सी बोर्डिङ स्कुलका लेखापाल सुनील चौधरीको कुटाइबाट विद्यार्थीको कानको जाली फुटेको हो।
लेखापाल चौधरीको कुटाई खाने विद्यार्थी कक्षा ९ मा अध्ययनरत निखिल खड्का हुन। दुई दिन विद्यालय नआएको भन्दै लेखापालले मंगलबार बिहान गेटमै कुटपिट गरेका थिए।
कुटपिट गरेको निखिलको परिवारले जनाएको छ। मामा विष्णु खत्रीका अनुसार उनलाई राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि लगिएको थियो। स्वास्थ्य परीक्षणपछि देब्रे कानको जाली फुटेको र रगत जमेको रिपोर्ट आएको छ।
खुट्टा र ढाडमा पनि चोट लागेको उनको भनाई छ। ‘भाग्छ भनेर गेटमा तीनजना शिक्षकले छेकेर लेखापालले पिटेछन्’ खत्रीले भने, ‘प्रहरीमा पनि जाहेरी दिने तयारी गरेका छौँ।’ विद्यालयका प्रिन्सिपल गणेशप्रसाद कोइरालाले भने यो विषयमा विद्यालयले अनुसन्धान गरिरहेको बताए। उनले भने, ‘मिलेर उपचार गरौँ भनेको छु, वास्तविकता के हो हामीले पनि जाँच गरिरहेका छौँ।’