अन्तर्राष्ट्रिय महिला दिवसको पूर्वसन्ध्यामा कार्यक्रम

दमक, झापा – “सबै महिला तथा बालिकाका लागि: अधिकार, समानता र सशक्तीकरण” भन्ने नाराका साथ ११५औँ अन्तर्राष्ट्रिय महिला दिवस दमकमा भव्य रूपमा सम्पन्न भएको छ। महिला जागरण समाज र नयाँ सचेतना समूहको सहकार्यमा तथा ए. एच. एफ. नेपालको सहयोगमा आयोजित कार्यक्रममा महिला अधिकार, समानता र सशक्तीकरणका विषयमा विशेष छलफल गरिएको थियो।
कार्यक्रमका प्रमुख वक्ता निकेश आचार्यले अन्तर्राष्ट्रिय महिला दिवसको इतिहास, यसको वर्तमान महत्त्व, तथा महिलाका अधिकारलाई थप सशक्त बनाउन आवश्यक पहलहरूको विषयमा चर्चा गरे। उनले महिलाहरूले सामना गरिरहेका चुनौतीहरूबारे सचेतना अभिवृद्धि गर्दै समान अवसर र न्यायको सुनिश्चितता गर्नुपर्नेमा जोड दिए।
नयाँ सचेतना समूहकी कल्पना बस्नेतले लैङ्गिक हिंसा न्यूनीकरण, एचआईभी सचेतना, सीपमूलक तालिम तथा बालबालिकाका लागि प्रदान गरिँदै आएको सहायता सेवाबारे जानकारी दिइन्। उनले स्थानीय सरोकारवालाहरूसँग सहकार्य गर्दै समाजमा सकारात्मक परिवर्तन ल्याउने प्रयास भइरहेको बताइन्।
महिला जागरण समाजकी कोषाध्यक्ष भगवती दाहालले झापामा महिला यौनकर्मीहरूका लागि कुनै विशेष सहयोगी संस्था नरहेको र यसले उनीहरूको जीवनमा विभिन्न समस्या सिर्जना गरिरहेको बताइन्। उनले राज्य र गैरसरकारी संस्थाहरूले यौनकर्मी महिलाहरूका लागि पनि आवश्यक सहयोग पुर्याउनुपर्नेमा जोड दिइन्।
ए. एच. एफ. नेपालका प्रतिनिधिहरूले एचआईभी सङ्क्रमितहरूका लागि यातायात सहायता, ल्याब परीक्षण, औषधि, पोषण सहयोगलगायतका सेवाहरू निरन्तर प्रदान गर्दै आएको जानकारी गराए। साथै, एचआईभी सङ्क्रमितहरूलाई थप सहज उपचार पहुँच उपलब्ध गराउन आगामी दिनमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने बताए।
कार्यक्रममा सहभागी महिलाहरूले आफ्ना अनुभव र चुनौतीहरूबारे खुलेर छलफल गरे। कार्यक्रममा महिलाको अधिकार र समानताका लागि आवाज उठाउनुका साथै सामाजिक परिवर्तनका लागि सामूहिक प्रयास आवश्यक रहेको सन्देश दिइएको थियो।
यस कार्यक्रमले दमकका महिलाहरूको सशक्तिकरणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। ए. एच. एफ. नेपालले यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ।