नागढुङ्गामा कुटाई खाने सहायक हवल्दार र कुट्ने इन्स्पेटर दुवैको जिम्मेवारी खोसियो

काठमाडौँ– काठमाडौँको नागढुंगामा प्रहरी सहायक हवल्दारलाई कुट्ने ट्राफिक प्रहरी इन्स्पेटर जितेन्द्र साह र कुटाइखाने मदन खड्का दुवैलाई जिम्मेवारीबाट हटाइएको छ।
थानकोट नाकामा खटिएका इन्सपेक्टर साहले सहायक हवल्दार खड्कालाई थप्पड हानेको भीडीओ सार्वजनिक भएको थियो। स्रोतका अनुसार घट्ना ३१ वैशाखकै हो। कुटाई खाने सहायक हवल्दार खड्का ट्राफिक प्रहरी प्रभाग नागढुंगामा कार्यरत थिए। साह ट्राफिक प्रहरी वृत्त नागढुंगाका प्रमुख हुन्।
सहायक हवल्दारले ट्रक चालकसँग रकम लिएको भेटेपछि आफूले कुटेको साहले आफ्नो कमाण्डमा जानकारी गराएका छन्। भारतीय ट्रकमा ल्याइएको केही कार्टुन बिस्कुट समेत हवल्दारले राखेको बताइएको छ।
भिडिओ सामाजिक सञ्जालमा सार्वजनिक भएपछि काठमाडौँ उपत्यका प्रहरी कार्यालय, रानीपोखरीले छानविन थालेको थियो। एसएसपी शेखर खनालले भने घटना कहिलेको हो, नखुलेको बताएका छन्।
कार्यालयले घटनामा संलग्न देखिएका दुवैलाई सोधपुछका लागि बोलाएको छ। तर, दुवैको नाम भने कार्यालयले सार्वजनिक गरेको छैन। एसएसपी खनालले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘कुटपिट भएको सार्वजनिक भिडिओ तथा समाचारका सम्बन्धमा यस कार्यालयको गम्भीर ध्यानाकर्षण भएको छ। सो कार्यमा संलग्न देखिएका प्रहरी कर्मचारीहरुलाई हालको जिम्मेवारीबाट हटाई आवश्यक छानविन भइरहेको व्यहोरा जानकारी गराइन्छ।’