बालबालिकालाई २० हजार सुपारी दिएर ससुराको हत्या गराएको आरोपमा वुहारी कारागार चलान

विराटनगर — बालबालिकालाई २० हजार रुपैयाँको सुुपारी दिएर ससुराको हत्या गराएको आरोप लागेकी संखुवासभाको खाँदबारी नगरपालिका–९, तुम्लिङटारकी एक महिलालाई अदालतले पुर्पक्षमा पठाएको छ।
जिल्ला अदालत संखुवासभाले ७२ वर्षीय वृद्ध मीनबहादुर कुमालको हत्या गराएको आरोपमा वुहारी ४५ वर्षीया बुलाकीदेवी (नाम परिवर्तित) लाई जिल्ला कारागार खाँदबारी चलान गर्ने आदेश दिएको हो। हत्यामा संलग्न अन्य १७ वर्षका दुई युवकलाई बाल सुधार गृह विराटनगर पठाइएको छ।
त्यस्तैगरी, हत्या आरोपमा पक्राउ परेकी १३ वर्षीया बालिकालाई भने अभिभावकको जिम्मा लगाइएको छ। प्रहरीका अनुसार मिनबहादुरको घाँटी थिचेर १३ बैशाखको मध्यराति हत्या भएको थियो।
बुलाकीले २० हजार दिने प्रलोभन देखाई नाबालक प्रयोग गरेर ससुराको हत्या गर्न लगाएको अनुसन्धानका क्रममा देखिएको प्रहरीले जनाएको छ। हत्यामा संलग्न दुई बालक मजदुर हुन। बुहारी र नातिनीको योजनामा अन्य दुई जना हत्यामा जोडिएको प्रहरीको भनाई छ।
मृतक कुमाल मदिरामा लट्ठ परेर सुतेको मौका छोपेर ससुराको हत्याका लागि बुलाकीले १३ वैशाखको राति दुई जनालाई बोलाएकी थिइन्। उनीहरू घरमा आएपछि चारै जना मिलेर जाँड खाएका थिए। त्यसपछि दुई जनालाई पठाएर हत्या गर्न लगाएको अनुशन्धानमा खुलेको छ।
युवकले बुलाकीको योजना अनुसार नै घाँटी थिचेर हत्या गरेको प्रहरीलाई बयान दिएका छन्। हत्यापछि उनीहरू बुलाकीकै घरमा सुतेका थिए। मृतक मीनबहादुर पनि हत्या कसुरमा कैद भुक्तान गरेका ब्यक्ति हुन।
०५९ असोजमा भाइ नाता पर्ने एक ब्यक्तिको हत्या कसुरमा उनी जेल परेका थिए। उनले ०७१ मा आफ्नै छोरालाई समेत खुकुरी प्रहार गरी गम्भीर घाइते बनाएका थिए। सोही घटनामा ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता भई ७ वैशाख ०७२ को अदालतको आदेशले ५ वर्ष कैद सजाय भुक्तान गरेका हुन्।
छोरा वैदेशिक रोजगारका लागि केही वर्षदेखि विदेशमा छन्। खुकुरी प्रहारबाट घाइते छोराकै श्रीमतीको योजनामा मीनबहादुरको हत्या भएको हो। मीनवहादुरले छोरालाई विदेशबाट फर्केपछि मार्ने धम्की दिदै आएका थिए।
यसैगरी, मीनवहादुरले श्रीमतीको उपचार गराउन आफू बसेको र श्रीमतीको नाममा रहेको जग्गा बिक्री गर्न खोजेपछि बुहारीसँग विवाद भएको थियो।