कटारी नगरपालिकामा शिलालेख विवादः कार्यपालिका सदस्यहरूको विरोधले भवन उदघाटनमा लफडा

गाईघाट– उदयपुरको कटारी नगरपालिकाको नवनिर्मित भवन उद्घाटनमा कार्यपालिकाका सदस्यहरु आपसमै विवाद गरेर लफडा गरेका छन्।
शनिबार सम्पन्न उद्घाटन कार्यक्रममा शिलालेखमा कार्यपालिका सदस्यहरूको नाम नराखिएको भन्दै उनीहरूले असन्तुष्टि जनाएपछि विवाद वढेको हो। शिलालेखमा मेयर राजेशचन्द्र श्रेष्ठ, उपमेयर गीता खड्का र वडा अध्यक्षहरूको मात्र नाम उल्लेख थियो।
कार्यपालिकामा बहुमत रहेका एमालेपक्षीय सदस्यहरूले आफूहरूको योगदानलाई बेवास्ता गर्दै शिलालेखमा नाम नसमेटिएको भन्दै आपत्ति जनाए। उक्त असन्तुष्टिसहितको भीडीओ अहिले सामाजिक सञ्जालमा भाईरल हुँदैछ।
भीडीओमा कार्यपालिका सदस्यहरूले उद्घाटन स्थलमै असन्तुष्टि ब्यक्त गर्दै विरोध जनाएको गरेको देखिन्छ। भवन उद्घाटन कार्यक्रम लामो समयदेखि प्रमुख अतिथि चयनको विवादमा अड्किएको थियो। अन्ततः विवादकै बीच मेयर र उपमेयरले संयुक्त रूपमा उद्घाटन गरे पनि शिलालेख विवादले कार्यक्रम तनावपूर्ण बनेको थियो।
कार्यपालिका सदस्यहरूले अबको बैठकमा उक्त विषयलाई औपचारिक रूपमा उठाउने तयारी गरेका छन। स्थानीय तहको राजनीति र समावेशिताको सवालमा पुनः प्रश्न उठाउँदै उनीहरूले यस घटनालाई अपमानको रूपमा लिएका छन।
भवन निर्माण सुरु भएको १० वर्षपछि सम्पन्न भएको हो। २०७२ सालमा तत्कालीन प्रमुख प्रशासकीय अधिकृत डम्बरु दाहाल रहँदा भवनको पहिलो तला ठेक्का लागेको थियो। भ्याटसहित ३ करोड १५ लाखमा जोशी आजाद जेभीले ठेक्का लिएर पहिलो तला निर्माण गरेको हो। भवन शिलान्यास भने तत्कालीन कार्यालय प्रमुख पुण्यप्रसाद पौडेलको समयमा गरिएको थियो।
पछिल्लो पटक २०७९ चैत ३० मा भुस्नाम्छा प्राइम बेल्टार जेभीले भ्याट बाहेक ५ करोड ५६ लाख ५३ हजार २४२ रुपैयाँमा ठेक्का लिएर काम गरेको हो। तीन तलाको भवनमा नगर प्रमुख ,उप प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको कक्षका साथै शिक्षा, लेखा, न्यायिक समिति, कृषि, पशु, योजना शाखा, प्रशासन, स्वास्थ्य शाखा लगायतका लागि छुट्टाछुट्टै ३० वटा कोठा र एउटा सभा हल छ।
भवन अपाङ्गमैत्री तथा अशक्त र ज्येष्ठ नागरिकहरूका लागि लिफ्टको व्यवस्था गरिएको छ।