तीन जिल्लामा चार मुद्दा खेपिरहेका युवा पाँचौं मुद्दामा पक्राउ, पक्राउ परेको पाँचौं दिन हिरासतमै मृत्यु

विराटनगर — तीन जिल्लामा चार वटा मुद्दा खेपिरहेका झापाका एक युवकको पाँचौं मुद्दामा पक्राउ परेको पाँचौं दिन मोरङ प्रहरीको हिरासतमा रहँदै मृत्यु भएको छ।
अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धानका लागि पक्राउ परेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मंगलबार मृत्यु भएको हो। हिरासतमै बिरामी परेपछि उनलाई उपचारका लागि विराटनगरस्थित कोशी अस्पताल भर्ना गरिएको थियो।
उपचारका क्रममा बिहान करिब साढे ११ बजे श्रेष्ठको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय मोरङका डीएसपी वेदप्रकाश जोशीका अनुसार श्रेष्ठविरुद्ध अभद्र व्यवहारसम्बन्धी मुद्दामा अनुसन्धान गर्न १५ जेठमा अदालतबाट म्याद लिइएको थियो। त्यसयता उनी हिरासतमा थिए।
डीएसपी जोशीका अनुसार हिरासतमा एक्कासि ज्वरो, पेट दुखाइ र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान करिब साढे ९ बजे उनलाई अस्पताल लगिएको थियो। स्वास्थ्य समस्या देखिएपछि यसअघि पनि श्रेष्ठलाई अस्पताल भर्ना गरिएको प्रहरीको भनाइ छ।
मोरङ प्रहरीका अनुसार श्रेष्ठ विगतदेखि लागुऔषध प्रयोगकर्ता थिए र केही वर्षदेखि परिवारको सम्पर्कमा समेत थिएनन। प्रहरी रेकर्डअनुसार, उनीविरुद्ध तीन जिल्लामा चार वटा मुद्दा दर्ता छन। तीमध्ये तीनवटा लागुऔषधसम्बन्धी र एक अभद्र व्यवहारसम्बन्धी रहेको प्रहरीले जनाएको छ।
श्रेष्ठविरुद्ध सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट मुद्दा दर्ता भएका थिए।
पछिल्लो पटक विराटनगरमै साइकल चोरीको प्रयास गर्दा पक्राउ परेका श्रेष्ठले साइकलधनी माथि दुर्व्यवहारसमेत गरेको आरोपमा किटानी जाहेरी परेपछि पक्राउ गरिएको थियो। त्यसपछि अनुसन्धानका क्रममा हिरासतमै रहेका बेला उनको मृत्यु भएको प्रहरीको भनाइ छ।
मृतकको शव कोशी अस्पतालमै राखिएको छ। आफन्तलाई खबर गरिसकिएको र उनीहरू आइपुगेपछि थप प्रक्रिया अघि बढाइने प्रहरीको भनाइ छ।