हिरासतबाट छुटाइदिन्छु भन्दै १ लाख ७० हजार ठगी गर्ने सिरहाका प्रमोदकुमार पक्राउ

लहान — सिरहा प्रहरीको हिरासतमा रहेका एक व्यक्तिलाई छुटाइदिने र मुद्दा मिलाइदिने भन्दै ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
पक्राउ पर्ने व्यक्ति सिरहाको विष्णुपुर गाउँपालिका–१, गौरीपुरका प्रमोदकुमार यादव हुन।
प्रहरीका अनुसार, सवारी ज्यान मुद्दामा सिरहा प्रहरीको हिरासतमा रहेका बेला सिरहा नगरपालिका–१६, माडरका विवेक यादवलाई छुटाई दिने भन्दै उनकी आमासँग प्रमोदकुमारले रकम असुल गरेका थिए।
विवेकलाई छुटाइदिने तथा मुद्दा मिलाइदिने भन्दै प्रमोदले विवेककी आमा रानीदेवी यादवसँग २०८१ असार २७ गते १ लाख ७० हजार रुपैयाँ लिएको खुलेको छ।
रानीदेवी यादवले दिएको जाहेरीका आधारमा प्रमोदलाई सोमबार पक्राउ गरिएको हो।
प्रहरीले सिरहा जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर विस्तृत अनुसन्धान अघि बढाएको जिल्ला प्रहरी कार्यालय सिरहाका डीएसपी वीरेन्द्रकुमार पासवानले जानकारी दिए।