सिरहाको थलहामा दलित बस्तीको बाटो छेकेर मन्दिरमा पर्खालः जातीय विभेद गरेको आरोप

लहान — सिरहाको विष्णुपुर गाउँपालिका–४, थलहामा रहेको दुर्गा मन्दिरको पर्खाल निर्माणको नाममा दलित समुदायको बस्तीमा नाकावन्दी सुरु भएको छ।
मन्दिरसँग सिधा जोडिएको बाटो दलित परिवारको प्रमुख आवतजावत मार्ग भए पनि त्यही बाटोमा पर्खाल बनाईएको छ, जसले गर्दा आधा दर्जनभन्दा बढी चमार परिवार पूर्ण रूपमा प्रभावित बनेका छन।
उद्योग, वाणिज्य तथा पर्यटन मन्त्रालयको ५० लाख रुपैयाँ बजेटमा मधेश प्रदेशअन्तर्गतको पर्यटन विकास कार्यालय, लहानमार्फत दुर्गा मन्दिरमा कम्पाउन्ड वाल र गेट निर्माण भइरहेको हो। उपभोक्ता समिति अध्यक्ष वीरेन्द्र यादवका अनुसार १३ जेठदेखि निर्माण कार्य थालिएको छ।
स्थानीयका अनुसार मन्दिर र दलित बस्तीबीच पहिले रहेको फराकिलो (४÷५ मिटर) बाटो अहिले साँघुरो पार्दै लगिएको छ। पाँच–छ फिट मात्रै जग्गा बाँकी राखेर बाँकी खण्डमा पर्खाल खन्दा उक्त बाटो प्रायः बन्द भएको छ।
उक्त बाटो प्रयोग गर्ने रामएकवाल महराका अनुसार, पहिले मन्दिर चौर हुँदै सिधै मुख्य सडकसम्म पुग्न सकिन्थ्यो। अहिले त्यो बाटो बन्द भएको छ। ‘पर्खाल लगाएको ठाउँ मेरो निजी जग्गा हो। तर त्यहाँबाट हाम्रो परिवार र छिमेकीको आवतजावत नै रोकिएको छ।’– उनले भने।
पर्खालका कारण हाल करिब ६ दलित परिवार पूर्ण रूपमा प्रभावित भएका छन। चैता महरा, रामशंकर महरा, शिवराम महरा, जयनन्द महरा, सञ्जय महरा, बुधराम महरा र रामखेलावन महराका घर मन्दिरको चारैतिर रहेको बाटोमा पर्दछन।
यसरी बाटो नै वन्द हुने गरी पर्खाल निर्माण हुन थालेपछि दलित परिवारले त्यसलाई रोक्ने प्रयास गरेका थिए। तर प्रहरी बोलाएर जबर्जस्ती खाल्डो खन्ने काम गरिएको अरुण महराले बताए। ‘हामीले रोक्न खोज्दा प्रहरी राखेर खाल्टो खनियो, हाम्रो गुनासो सुन्ने कोही भएन।’– उनले भने।
स्थानीय कविता महराले त झन आफुहरुलाई दलित भएकै कारण हेपेर यस्तो गरिएको आरोप लगाएकी छिन्। ‘यदि हामी उच्च जातिको भए यस्तो हुँदैनथ्यो।’–उनले भनिन्। पर्खाल लगाउने कामका अगुवाई गरिरहेका ७० वर्षीय भोगेन्द्र साहको कुराले कविताको आरोपलाई थप पुष्टि गर्छ। दलित परिवारले जथाभावी फोहोर गर्ने गरेकाले पर्खाल लगाएर मन्दिर संरक्षण गर्न लागेको उनको तर्क छ।
वडाध्यक्ष रामबाबु यादवले भने मन्दिरको जग्गा नापनक्सा गरेरै पर्खाल लगाउँन थालिएको दाबी गरेका छन्। गाउँब्लकको मन्दिरको ६–७ फिट जग्गा रहेको र १२ फिटसम्मको बाटो बन्न सक्ने उनको भनाइ छ। तर, मन्दिरको पश्चिम छेउको बाटोको समस्याका विषयमा भने उनले स्पष्ट जवाफ दिएनन्।
उनले ‘बिस्तारै समस्या समाधान गर्ने’ बताएर आफनो कुरालाई मोड्ने प्रयास गरे। पर्खाल निर्माण गर्नुअघि उनीहरुको सहमति लिइएको पनि उनले दाबी गरे। ‘तर, मन्दिरको भोगचलनमा रहेको बाटोको जग्गाधनी दर्ता प्रमाण पुर्जा छ भने अहिले पनि पर्खाल पूर्वतिर सार्न सकिन्छ’ उनले भने–‘हिँड्ने बाटो अवरोध गरिएको हो भने सच्याउँछौँ।’