पोखरामा ‘तालिवानी शैली’ आक्रमणः विद्यार्थी सवार बसमाथि ढुंगा प्रहार, पाँच घाइते

काठमाडौँ– पोखरामा एउटा शैक्षिक भ्रमणबाट फर्कँदै गरेका विद्यार्थी सवार बसमाथि ‘तालिवानी शैली’मा रातको समयमा आक्रमण भएको छ।

पोखरा महानगरपालिका–१७ चाउचेमा १८ जेठको राति साढे ११ बजे भएको ढुंगा प्रहारमा परी पाँच जना विद्यार्थी घाइते भएका छन। घटनामा संलग्न रहेको अभियोगमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा चितवनका ४८ वर्षीय बस चालक तिलकबहादुर थापा मगर, बाराका ३० वर्षीय सहचालक मानप्रसाद खरेल र गोर्खा पालुङटारका २८ वर्षीय राजेश मरहट्टा छन। उनीहरूलाई इलाका प्रहरी कार्यालय शिशुवा र वडा प्रहरी कार्यालय रामबजारको संयुक्त टोलीले नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार, नेपाल कलेज अफ इन्फरमेसन टेक्नोलोजी, बालकुमारी ललितपुरका विद्यार्थी काठमाडौँ फर्कँदै थिए। रातको समयमा चलिरहेको बा १ प ९१६ नम्बरको बसमाथि ढुंगा प्रहार गरिएको थियो। आक्रमण कस्तो उद्देश्यले गरिएको हो भन्नेबारे यथार्थ खुल्न बाँकी छ।

जिल्ला प्रहरी कार्यालय कास्कीका डीएसपी हरि बस्नेतका अनुसार उनीहरूलाई आपराधिक उपद्रव अन्तर्गत अनुसन्धान गर्न कास्की जिल्ला अदालतबाट ६ दिनको म्याद लिइएको छ। स्थानीय बासिन्दा तथा प्रत्यक्षदर्शीले ‘अप्रत्याशित’, ‘संगठित’ र ‘तालिवानी शैलीको भय सिर्जना गर्ने किसिमको’ भनेका छन।

रातको समयमा विद्यार्थी सवार बसमाथि भएको योजनाबद्ध ढुंगा प्रहारको घट्नाप्रति अभिभावकले चिन्ता ब्यक्त गरेका छन्। प्रहरीले घटनाको थप अनुसन्धान र संलग्न अन्य सम्भावित व्यक्तिहरूको खोजी जारी राखेको जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट