सप्तकोसी नदीले लियो दुई उद्धारकर्मीको ज्यानः डेमो अभ्यासमै हराएका साउद र राजवंशी दुवैको मृत्यु

राजविराज — विपद् व्यवस्थापन सम्बन्धी डेमो अभ्यासका क्रममा सप्तकोसी नदीमा डुबेर वेपत्ता भएका सशस्त्र प्रहरी बलका दुबै गोताखोरको शव फेला परेको छ। बिहीबार दिउँसो भएको उक्त घटनामा झापा घर भएका २८ वर्षीय हरदेव राजवंशी र डोटी घर भएका २६ वर्षीय सुरज साउदको ज्यान गएको हो।

डेमो अभ्यास मधेस प्रदेश सरकारले शनिबार आयोजना गर्न लागेको प्रदर्शनी कार्यक्रमअन्तर्गत सञ्चालन गरिएको थियो। कोसी ब्यारेजस्थित ५५/५६ नम्बर ढोकाबाट अभ्यासमा खटिएका पाँच जना गोताखोरमध्ये राजवंशी र साउद अन्तिम चरणको अभ्यासमा नदीमा पसेपछि हराएका थिए।

दुवै जना गोताखोर डोरी, अक्सिजन सिलिन्डर र विशेष सुरक्षात्मक उपकरणसहित अभ्यासमा सहभागी भएका थिए। तर पानीभित्र पसेको केही समयपछि डोरी चुँडिएको र अक्सिजन सिलिन्डर सतहमा तैरिएको देखिएपछि उनीहरू सम्पर्कविहीन भएका थिए।

घटनापछि सशस्त्र प्रहरी बलको विशेष टोली, नेपाल प्रहरी र स्थानीय प्रशासनको समन्वयमा खोजी कार्य सुरु गरिएको थियो। शुक्रबार बिहान करिब तीन किलोमिटर तल बगेको अवस्थामा हरदेव राजवंशीको शव फेला परेको थियो। उनी नम्बर १ श्रीअन्तु गण ईलाममा दरवन्दी भई दन्तकाली विशेष कार्य तालिम शिक्षालय सप्तरीमा कार्यरत थिए।

यसैगरी आइतबार बिहान कोसी ब्यारेजकै ५५ नम्बर ढोकानजिकै सुरज साउदको शव पनि फेला परेको सप्तरी प्रहरीले जनाएको छ। साउद हाल सशस्त्र प्रहरी बलको नम्बर १३ गण पर्सामा दरबन्दीमा थिए भने छिन्नमस्ता बाहिनीमा खटिएका थिए। उनको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल, राजविराज ल्याइएको थियो।

उनीहरू दुवैले अघिल्लो वर्ष बंगलादेशबाट गोताखोर तालिम लिएका थिए र विभिन्न उद्धार अभियानमा सक्रिय रूपमा संलग्न रहँदै आएका थिए। राजवंशीले झापा, सुनसरीलगायत स्थानमा डुबेका व्यक्तिको शव फेला पार्ने कार्यमा अनुभव हासिल गरेका थिए भने साउद पनि विपद् व्यवस्थापन कार्यमा खटिइसकेका थिए।

बिहीबारको डेमो अभ्यास सशस्त्र प्रहरी बलका लागि नियमित तालिम अन्तर्गतको अभ्यास थियो। शनिबार मधेस प्रदेशका मुख्यमन्त्री, मन्त्रीहरू र सुरक्षानिकायका उच्च अधिकारीहरूलाई समक्ष उद्धारको नमूना प्रस्तुत गर्ने तयारी स्वरूप उक्त अभ्यास आयोजना गरिएको थियो।

सशस्त्र प्रहरी बलका अनुसार घटना दुःखद र गम्भीर छ। आगामी दिनमा यस्ता तालिम र अभ्यासलाई अझ सुरक्षित बनाउन आवश्यक प्राविधिक अध्ययन र तयारीमा जोड दिइने जनाएको छ। साथै, मृतकका परिवारलाई नियमानुसार क्षतिपूर्ति र राहत उपलब्ध गराउने प्रक्रिया अघि बढाइएको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट