राजविराज नगरपालिकामा चुलिंदो विवाद: दुवै पक्षबाट ज्यान मार्ने प्रयास र आक्रमणको उजुरी

राजविराज– राजविराज नगरपालिकामा लामो समयदेखि चल्दै आएको आन्तरिक विवाद थप चुलिएको छ। नगरपालिकाका निलम्वित मेयर र कार्यवाहक नगरप्रमुख पक्षबीचको विवाद तालाबन्दी, तोडफोड, कर्मचारीमाथि आक्रमण र ज्यान मार्ने प्रयासको उजुरीसम्म पुगेको छ।

राजविराज नगरपालिका–८ का वडाध्यक्ष जबाहर यादवले बुधबार कार्यवाहक मेयर इसरत परविनसहित ६ जनामाथि ज्यान मार्ने उद्योगको आरोपमा जिल्ला प्रहरी कार्यालय सप्तरीमा जाहेरी दिएका छन्।

जाहेरीमा कार्यवाहक मेयर परविनका श्रीमान् समीम अख्तर अली, करारका इन्जिनियर फिरोज खान, लेखा अधिकृत शत्रुधन लाल दास, स्थानीय सनाउद्दिन खान र मोहम्मद सजादसमेतलाई प्रतिवादी बनाइएको छ।

वडाध्यक्ष यादवले प्रमुख प्रशासकीय अधिकृतको सरुवापछि उत्पन्न विवादका क्रममा तालाबन्दी तोड्ने प्रयास गर्दा झडप भएको र सोही क्रममा आफ्नो ज्यान मार्ने प्रयास गरिएको दाबी गरेका छन्। उनले घटनाको निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कडा कारबाहीको माग गरेका छन्।

यता, कार्यवाहक मेयर परविनले पनि निलम्बित मेयर भीमराज यादव, योजना शाखा प्रमुख मनोज कुमार यादव, सुधीर यादव, गज्जु भनिने गजेन्द्र यादवसहितलाई प्रतिवादी बनाई जिल्ला प्रहरी कार्यालयमा उजुरी दिएकी छन्। उनले सार्वजनिक सम्पत्ति विनाश, कार्यालय तोडफोड, कर्मचारीमाथि शारीरिक आक्रमण, आपराधिक उपद्रव र लुटपाटको गम्भीर आरोप लगाएकी छन्।

उनले दिएको उजुरी अनुसार, सरसफाई कर्मचारीहरूको १६ दिनको ज्याला भुक्तानीको विषयलाई लिएर विवाद सुरु भएको थियो। कर्मचारीहरूको मागप्रति योजना शाखा प्रमुख मनोज यादवले असहयोग गर्दै अभद्र व्यवहार गरेपछि अवस्था उग्र बनेको परविनको भनाइ छ।

२७ जेठमा तालाबन्दी तोडेर निमित्त प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालय प्रवेश गराउन खोज्दा निलम्बित मेयर पक्षले आक्रमण गरेको, कार्यालयका ढोका, सिसा, फर्निचर तोडफोड गरी लेखा अधिकृत शत्रुधनलाल दासमाथि कुटपिट गर्दै दुई तोलाको सुनको सिक्री लुटपाट गरिएको आरोप लगाइएको छ।

परविनले दोषीलाई कडा सजाय र क्षतिपूर्ति भराउन माग गर्दै उजुरी प्रधानमन्त्री कार्यालय, गृह मन्त्रालय, प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय र मानव अधिकार आयोगलगायत सरोकारवाला निकायमा समेत पठाएकी छन्। जिल्ला प्रहरी कार्यालय सप्तरीले दुवै उजुरीका आधारमा घटनाको अनुसन्धान अघि बढाएको जनाएको छ।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट