७ वर्षीया भतिजीमाथि बलात्कारपछि मुण्टो बटारेर हत्याः थुनछेक बहसकै दिन कान्छा काकालाई जन्मकैद

विराटनगर– मोरङको धनपालथान गाउँपालिका–५ की सात वर्षीया बालिकामाथि बलात्कारपछि हत्या गर्ने आफ्नै कान्छा काका २२ वर्षीय अनिष सरदारलाई जिल्ला अदालत मोरङले जन्मकैद (आजिवन कैद) सजाय सुनाएको छ।

घटनापछि पक्राउ परेका अनिषलाई सोमबार अदालतमा थुनछेक बहसकै दिन जिल्ला अदालत मोरङका न्यायाधीश बाबुराम सुवेदीको इजलासले मुलुकी अपराध संहिता दफा ४१ बमोजिम जन्मकैदसहित ७ लाख रुपैयाँ जरिवाना र मृतक परिवारलाई १ लाख रुपैयाँ क्षतिपूर्तिको आदेश सुनाएको हो।

गत असार १४ गते राति आफ्नै घरमा सुतिरहेकी नाबालिका भतिजीलाई अनिषले उठाएर बाहिर लगेर बलात्कार गरेका थिए। बालिकाले प्रतिकार गरेपछि मुख थुनेर र पछि घाँटी बटारेर हत्या गरिएको प्रहरी अनुसन्धानबाट खुलेको छ।

प्रहरीका अनुसार उनले मदिरा सेवन गरेका थिए र अश्लील भिडियो हेरेपछि उत्तेजित भई अपराध गरेका हुन्। बालिकाको शव शनिबार बिहान घरबाट झन्डै सय मिटर पर रहेको दुर्गा आधारभूत विद्यालयको बाटोछेउमा फेला परेको थियो।

बालिकाका बाबुआमा विराटनगरमा मजदुरी गर्छन्। घट्नाको रात उनीहरू गाउँमा थिएनन्। दुई छोरी र एक छोरालाई हजुरआमाको जिम्मा लगाएका थिए भने हजुरआमाले कान्छा छोराको जिम्मा लगाएकी थिइन्। अनिषले मदिरा खाएर राति अबेरसम्म अश्लील भिडियो हेरेपछि सुतेकी भतिजीलाई ओछ्यानबाट उठाएर बाहिर लगेर बलात्कार गरे।

बालिकाले प्रतिकार गर्दा उनले बलात्कारपछि हत्या गरे र राति २–३ बजेतिर शव सडकछेउमा फालेर घर फर्किए। प्रहरी अनुसन्धानका क्रममा अनिषको मोबाइलमा हरेक दिन अश्लील सामग्री हेर्ने बानी देखिएको थियो। सोधपुछका क्रममा उनले सुरुमा अपराध स्वीकार नगरे पनि पछि गल्ती स्वीकार गर्दै रोएका थिए।

उनको शरीरमा बालिकाले प्रतिकार गर्दा नङले कोतरेको दागसमेत देखिएको थियो। घटनामा अरुको संलग्नता नदेखिएको, वयानमा उनले अपराध स्विकारेको र प्रमाण तथा घटनास्थलको विवरण मिलेको पाइएपछि उनीमाथि दोष पुष्टि भएको हो।

सरकारी वकिलको कार्यालयले आइतबार नै जिल्ला अदालत मोरङमा अभियोगपत्र दर्ता गरेको थियो। सोमबार बयानपछि थुनछेक बहसमै फैसलासहित अदालतले उनलाई आजीवन कारावासको सजाय सुनाएको हो।

यो पनि,


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट