सिरहामा भाइ–बुहारीको झगडा छुट्याउँन गएका दाजुको खुकुरी प्रहार गरी हत्या

लहान — सिरहाको गोलबजारमा भाइ र बुहारीको घरायसी झगडा छुट्याउन गएका दाजुलाई नै भाइले खुकुरी प्रहार गरी हत्या गरेका छन्।

गोलबजार नगरपालिका–३ का ३५ वर्षीय मोतीराम सदा आफ्ना कान्छा भाइ श्याम सदा र बुहारी कौशल्या सदाबीचको विवाद मिलाउन गएका थिए। तर, झगडा सुल्झाउने क्रममा झोकमा आएका २५ वर्षीय श्यामले दाजु मोतीरामको छातीमा खुकुरी प्रहार गरेका थिए।

गम्भीर घाइते भएका मोतीरामलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल लहान पुर्‍याइएको भए पनि अस्पतालले उनलाई मृत घोषित गरेको इलाका प्रहरी कार्यालय गोलबजारले जनाएको छ।

प्रहरीका अनुसार बिहीबार राति श्याम र उनकी १९ वर्षीया पत्नी कौशल्या बीच सामान्य घरेलु विवाद भइरहेको थियो। दाजु मोतीरामले झगडा रोकेर सम्झाउने प्रयास गर्दा हिंसा निम्तिएको हो।

खुकुरी प्रहारपछि श्याम घटनास्थलबाट फरार भएका छन्। उनी जंगलतर्फ भागेको इलाका प्रहरी कार्यालय गोलबजारका इन्स्पेक्टर गोविन्दप्रसाद साहले जानकारी दिए।

प्रहरीले घटनाको प्रकृति गम्भीर भएको भन्दै अनुसन्धानलाई तीव्र बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट