पूर्वराष्ट्रपति भण्डारीको पत्रकार सम्मेलनः एमालेको निषेध निर्णयको ठाडो प्रतिवाद

राजधानी– नेकपा एमालेको केन्द्रीय कमिटी वैठकले सकृय राजनीतिमा फर्किने बाटो बन्द गरिदिएको तीन दिन नबित्दै शुक्रबार पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पत्रकार सम्मेलन गरेर उक्त निर्णयलाई काउण्टर दिएकी छिन्।
भण्डारीको पक्राकार सम्मेलनले उनको सक्रिय राजनीतिमा फर्किन चाहनालाई अव कुनै शक्तिले रोक्न नसक्ने स्पष्ट संकेत दिएको छ। पार्टी सदस्यता नवीकरण भइसकेको दाबी गर्दै उनले एमाले नेतृत्वबाट आफूमाथि गरिएको निषेधप्रति असन्तोष पोखिन्। पत्रकार सम्मेलनको पृष्ठभूमिमा आफ्ना दिवंगत पति मदन भण्डारीको तस्बिर र ‘जनताको बहुदलीय जनवाद जिन्दावाद’, ‘नेकपा एमाले जिन्दावाद’ लेखिएको ब्यानरसहित उनी प्रस्तुत भएकी थिईन।
भण्डारीले पार्टीमा पुनः प्रवेशको औपचारिक अनुमति नपाए पनि आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको दाबी गरिन्। तर नवीकरण कहिले, कहाँ र कसरी भएको हो भन्ने खुलाइनन्। उनले पार्टी अध्यक्ष केपी शर्मा ओलीसँग यस विषयमा कुराकानी भइसकेको पनि उल्लेख गरिन्। आफू र ओलीबीचको संवाद सौहार्दपूर्ण रहेको र त्यही संवादको भोलिपल्ट पार्टी कमिटीले सदस्यता मान्यता नदिएको निर्णय गरेपछि आफू ‘नभएको विवादमा तानिएको’ बताइन्।
भण्डारीको भनाइमा उनी राष्ट्रपति पदबाट निवृत्त भएपछि सामाजिक, आर्थिक र अन्तर्राष्ट्रिय विषयमा चिन्तन–मननमा थिइन्। तर पुनः पार्टीमा सक्रिय भएर काम गर्ने निर्णयमा पुगेपछि सदस्यता नवीकरण गरेको र त्यो अब विवादको विषय हुन नहुने धारणा राखिन्। संविधानले राजनीतिक दलमा आबद्ध हुने अधिकार प्रत्याभूत गरेको भन्दै उनले आफूलाई एमालेले निषेध गर्नु संविधानविपरित रहेको तर्क पनि गरिन्।
आफूमा पदप्रति लालसा नभएको बरु आफ्नो बाँकी जीवन पनि राजनीतिमा नै समर्पित गर्ने निर्णयमा पुगेको उनले जनाइन्। राष्ट्रपति पद हासिल गर्नु राजनीतिक व्यक्तित्वकै कारण भएको स्मरण गर्दै उनले अब पार्टीको सुदृढीकरण र जनसेवामा लाग्ने इच्छा व्यक्त गरिन्।
पत्रकारहरूले सोधेका प्रश्नहरूमा उनले स्पष्ट योजना सार्वजनिक नगरे पनि ‘पार्टीका आन्तरिक प्रक्रिया’ चलिरहेको संकेत गरिन्। सदस्यता नवीकरण प्रक्रियालाई हुलहुज्जत वा उत्तेजनाका भरमा खारेज गर्न नमिल्ने भन्दै उनले अझै पार्टीभित्रबाट फरक निर्णय आउने अपेक्षा रहेको प्रष्ट पारिन्।
एमालेले भने यसअघि ६ साउनमा केन्द्रीय कमिटीको बैठकबाट पूर्वराष्ट्रपति वा राष्ट्राध्यक्षजस्ता संवैधानिक पदमा पुगिसकेकाले राजनीतिक दलको सदस्य बन्न मिल्दैन भन्ने निष्कर्ष निकालेको थियो। एमालेले भण्डारीजस्ता व्यक्तिले दलमा फर्किए जनतामा गलत सन्देश जाने, पदमा बहाल रहँदा गरेका निर्णयमाथि प्रश्न उठ्ने र संविधानको भावना विपरित अभ्यास हुने ठहर गरेको छ।
उक्त निष्कर्ष सार्वजनिक गर्ने क्रममा एमाले महासचिव शंकर पोखरेलले भण्डारीको योगदान स्वीकार गरे पनि उनलाई पार्टीमा पुनः सक्रिय रूपमा स्वागत गर्न नमिल्ने स्पष्ट पारेका थिए। उनका अनुसार यसरी राजनीतिमा फर्किन खोज्नु लोकतान्त्रिक मूल्य र संस्थागत अभ्यासविरुद्ध हुने देखिन्छ।
तर भण्डारीको पछिल्लो अभिव्यक्तिले उनी अझै पनि पार्टीमा पुनःस्थापना हुने आशमा रहेको र एमालेको पछिल्लो निषेध निर्णयलाई अन्तिम ठानिरहेकी छैनन् भन्ने स्पष्ट देखिन्छ। यस्तो अवस्थामा एमाले नेतृत्व र पूर्वराष्ट्रपतिबीचको यो सम्बन्ध अब औपचारिक रूपमा टुङ्गिन्छ वा नयाँ मोड लिन्छ भन्ने चासोको विषय भएको छ।