१५ दिने प्रेम सम्बन्धमा अविश्वासपछि कैलालीमा १७ वर्षीया किशोरीको हत्या, यसरी भयो घट्ना

राजधानी— १५ दिने प्रेम सम्बन्धनका अविश्वास पैदा भएपछि कैलालीको बर्दगोरिया गाउँपालिका–१, बौनियास्थित राजधानी सेकुवा एण्ड मःम सेन्टरमा काम गर्ने १७ वर्षीया किशोरी याचन सेजुवालको हत्या भएको खुलासा भएको छ।

उनको हत्या सोही रेस्टुरेन्टमा काम गर्ने ३३ वर्षीय किचनकर्मी निरज साउदले गरेका हुन्। प्रहरीका अनुसार याचना करिब १५ दिनअघि मात्र वेटरको रूपमा रेस्टुरेन्टमा काम गर्न आएकी थिइन्। सोही क्रममा किचनमा काम गर्ने निरज साउदसँग उनको चिनजान भएको थियो।

काम गर्ने क्रममा नजिकिएका उनीहरूबीच केही दिनमै प्रेमसम्बन्ध सुरु भएको अनुसन्धानबाट खुलेको छ। निरज साउद पहिले नै विवाहित थिए र उनको श्रीमतीसँग सम्बन्धविच्छेद भइसकेको थियो। उनका दुई सन्तान पनि छन्। याचनासँगको सम्बन्धमा उनी निकै गम्भीर भएको प्रहरीको भनाइ छ।

तर पछिल्ला दिनहरूमा याचनाले अन्य केटासँग फोनमा कुरा गर्न थालेको देखेपछि उनीहरूबीच झगडा सुरु भएको थियो। शुक्रबार रातिसम्म उनीहरू सँगै घरबाट भाग्ने तयारीमा थिए। तर अन्तिम समयमा याचनाले मानिनन्। त्यसपछि निरज रिसाएका थिए।

शनिबार बिहान करिब १० बजेतिर काम गर्ने क्रममा उनीहरू मात्र भान्सामा थिए। सोही बेला झगडा हुँदा निरजले धारिलो चक्कु प्रहार गरेर याचनाको हत्या गरे। गम्भीर घाइते भएकी याचनालाई तत्काल उपचारका लागि धनगढीको निसर्ग अस्पताल पु¥याइयो, तर उपचारको क्रममा उनको मृत्यु भयो।

प्रहरीले घटनापछि निरज साउदलाई नियन्त्रणमा लिएको छ। प्रारम्भिक बयानमा उनले याचनासँग विवाह गर्ने सहमति भएको तर अरूसँग पनि कुरा गरिरहेको देखेपछि रिसको झोकमा हत्या गरेको बताएका छन्।

मृतक याचनाको शव सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट