वीरगन्जको लजमा तीन दिनसम्म राखेर बालिकामाथि बलात्कार, ३ महिनापछि दुई जना पक्राउ*

वीरगन्ज — पर्साको वीरगन्जमा रहेको नयाँ बसपार्कस्थित एक लजमा १७ वर्षीया बालिकालाई नियन्त्रणमा राखि तीन दिनसम्म बलात्कार गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पर्साको बहुदरमाई नगरपालिका–२ सिसियाडी घर भई हाल वीरगन्ज–१३ राधेमाईमा बस्दै आएका नेक मोटरसाइकल वर्कशपका सञ्चालक ४० वर्षीय नेक महम्मद र सोही वर्कशपमा काम गर्ने रौतहट घर भएका २१ वर्षीय अफताब अन्सारी छन्।
प्रहरीका अनुसार १७ वर्षीया बालिकालाई वैशाख २० गते साँझमा बाख्राखोरबाट बाख्रा बाँधेर घर फर्कने क्रममा बाटोमै नेक र अफताबले घेरा हालेर नियन्त्रणमा लिएका थिए। ती बालिकाको मुखमा कपडा कोचेर र आँखामा कालो पट्टी बाँधी उनीहरूले वीरगन्जको नयाँ बसपार्कस्थित गणेश होटल एण्ड लजको कोठामा लगेर राखेका थिए।
उनलाई लजमा तीन दिनसम्म बन्धक बनाएर दुबै जनाले पालैपालो बलात्कार गरेको खुलेको छ। त्यसपछि वैशाख २३ गते बिहान ८ बजेतिर उनीहरूले बालिकालाई वीरगन्ज–१० स्थित घडिअर्वा पोखरी पार्कको गल्लीमा छोडेर फरार भएका थिए।
पीडित बालिका आफैँ प्रहरी कार्यालय पुगेकी थिइन् र किटानी जाहेरी दिएपछि प्रहरीले खोजतलास थालेको थियो। त्यसैक्रममा मंगलबार दिउँसो वीरगन्ज महानगरपालिका–१५ को प्रतिमा चोकबाट दुबै अभियुक्तलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका डीएसपी किशोर लम्सालले जानकारी दिए।
पक्राउ परेका नेक महम्मद र अफताब अन्सारीलाई अपहरण, शरीर बन्धक र जबरजस्ती करणी मुद्दामा पर्सा जिल्ला अदालतबाट ५ दिनको म्याद थप लिई थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
*अपडेट