सप्तरीमा बसको ठक्करबाट साईकल यात्रीको मृत्यु, पूर्वपश्चिम राजमार्ग अवरुद्ध

राजविराज— पूर्वपश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्नीसाईर कृष्णासवरन गाउँपालिका–२ चाँदनी चोकमा बसको ठक्करबाट एक वृद्धको मृत्यु भएको छ। ठक्करबाट स्थानीय ६८ वर्षीय बुदुर चौधरीको मृत्यु भएको हो।
इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधव काफ्लेका अनुसार पूर्व गइरहेको ना प्र १–०१–००१ ख ४५६० नम्बरको बसले सोही दिशामा जाँदै गरेका चौधरीको साईकललाई पछाडिबाट ठक्कर दिएको थियो। धानखेततर्फ जाँदै गरेका चौधरीको घटनास्थलमै मृत्यु भएको हो।
ठक्कर दिने बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ। घटनापछि आक्रोशित स्थानीय र मृतकका आफन्तले पूर्व–पश्चिम राजमार्गको चाँदनी चोक खण्ड बिहानैदेखि अवरुद्ध पारेका छन्। सयौँ सवारीसाधन सडकमा थन्किएका छन् भने हजारौँ यात्रु बाटोमै अलपत्र परेका छन्।
प्रतिक्रिया