खोटाङमा बालिकाको मृत्यु प्रकरणः बलात्कारपछि हत्या भएको आशंका

दिक्तेल- खोटाङको दिक्तेल रूपाकोट मझुवागढी नगरपालिका–३ बाम्राङमा झुण्डिएको अवस्थामा मृत फेला परेकी एक बालिकाको मृत्युबारे आशंका उत्पन्न भएको छ। उनको बलात्कारपछि हत्या भएको आशंकासहित छानबिन गर्नुपर्ने माग उठेको छ।
साउन २९ गते रामकुमार हिङमाङको घरमा १२ वर्षीया तारा अछामी मृत फेला परेकी थिइन्। मृतकका बुवा टेकबहादुर सार्कीले प्रहरीमा जाहेरी दिएपछि भदौ १ गते बालिकाको शवलाई पोस्टमार्टमका लागि पठाइएको छ।
जिल्ला प्रहरी कार्यालय खोटाङका डीएसपी प्रतिक विष्टका अनुसार घटनापछि आफन्तले जाहेरी नदिँदा पोस्टमार्टममा ढिलाइ भएको थियो। ‘छानबिनको माग गर्दै जाहेरी परेपछि मात्रै पोस्टमार्टम गरिएको हो,’ डीएसपी विष्टले भने। उनले दिएको विवरणअनुसार जाहेरी ज्यानसम्बन्धी कसुरमा परेको हो, तर जाहेरीमा कसैलाई प्रत्यक्ष आरोप लगाइएको छैन।
आफन्तहरूले ताराको मृत्यु सामान्य नभई बलात्कारपछि हत्या भएको दाबी गर्दै घटनाको सत्यतथ्य छानबिन गर्न प्रहरीसँग माग गरेका छन्। ‘आफ्नै घरमा यस्तो घटना भएकाले सत्य तथ्य बाहिर आओस्, दोषीलाई कारबाही होस्,’ रामकुमार हिङमाङले भने।
बालिका एक महिनादेखि हिङमाङको घरमा बसेर बाम्राङस्थित सावित्रा माध्यमिक विद्यालयमा कक्षा ४ मा अध्ययनरत थिइन्। उनकी आमा सरिता सार्की भने छोरासहित हिङमाङकै घरमुनि डेरा लिएर बस्दै आएकी थिइन्।
प्रहरीले घटनाको विस्तृत अनुसन्धान अगाडि बढाएको जनाएको छ। यद्यपि कसैलाई पक्राउ गरिएको छैन।