विवाहेत्तर सम्बन्ध र पैसाको लोभले गयो सुस्मिताको ज्यान, ८ महिनापछि मात्र हत्यारा पक्राउ

काठमाडौँ– बर्दियाकी २७ वर्षीया सुस्मिता थारूको हत्या विवाहेत्तर सम्बन्ध र पैसाको लोभका कारण भएको प्रहरीले पुष्टि गरेको छ।

ठाकुरबाबा नगरपालिका–१ भुरीगाउँकी सुस्मिता २०८१ पुस १८ गते बिहान घरबाट ‘नगरपालिकामा काम छ’ भन्दै रातो साइकल चढेर निस्किएकी थिइन्। तर, उनी बेलुकी घर फर्किनन्। उनका श्रीमान् २७ वर्षीय फत्तेसिंह थारू त्यसबेला रोजगारीको सिलसिलामा छिमेकी देश भारतमा थिए। घरमा उनीहरूका बालबच्चा पनि थिए। बालबालिकाले पनि आमाका लागि बिलौना गर्न थालेका थिए।

परिवारले खोजतलास गरे पनि उनको अवस्था ज्ञात हुन सकेन। त्यसपछि सुस्मिता हराएको जानकारी पुस २१ गते इलाका प्रहरी कार्यालय बनगाहा भुरीगाउँमा दिइयो। प्रहरीले खोजतलास सुरु गर्यो। यसै क्रममा एक महिनापछि माघ १५ गते बबई नदी किनारको खरखरियाको झाडीमा उनको कंकाल मात्र फेला प¥यो।

कंकालसँगै फेला परेको कुर्ता, ज्याकेट र सलबाट उनका ससुरा ५० वर्षीय सन्तराम थारूले शवको पहिचान गरेका थिए। जिल्ला प्रहरी कार्यालय बर्दियाका प्रहरी निरीक्षक कृष्ण डाँगीका अनुसार सुस्मिताले प्रयोग गरेको साइकल र मोवाईल हालसम्म पनि फेला परेको छैन।

सुस्मिताको कंकाल फेला परे पछि प्रहरीले लामो समय प्राविधिक अनुसन्धान गर्यो। मोबाइलको कल डिटेल्स (सीडीआर) जाँच्दा मधुवन नगरपालिका–२ गंगापटुवाका ३६ वर्षीय गोपी भन्ने कनोहे थारूसँग उनको बारम्बार सम्पर्क भएको पत्ता लाग्यो। अनुसन्धानको आधारमा प्रहरीले गोपीलाई भदौ ५ गते गुलरिया नगरपालिका–३ बाट पक्राउ ग¥यो।

सोधपुछका क्रममा गोपीले प्रहरीसमक्ष अपराध स्वीकार गरेका छन्। उनका अनुसार, उनी र सुस्मिताबीच विवाहेत्तर सम्बन्ध थियो। पछिल्लो समयमा सुस्मिता निरन्तर पैसा मागिरहेकी थिइन्। पैसा नदिए ‘बलात्कार मुद्दामा फसाइदिन्छु’ भनेर धम्की दिने गर्थिन्।

सुस्मिताले पछिल्ला दिनमा गोपीसँग विवाह गरेर घर लैजान पनि माग गरेकी थिइन्। तर दुवै विवाहित भएकाले सम्भव थिएन। पैसाको माग, विवाहको दबाब र बलात्कारको धम्कीले त्रसित बनेका गोपीले अन्ततः पुस १८ गते बबई नदी किनारमै सुस्मिताको घाँटी थिचेर हत्या गरेको बयान दिएका छन्।

जिल्ला प्रहरी कार्यालय बर्दियाले अब घटनालाई ‘कर्तव्य ज्यान’ मुद्दा बनाई सरकारी वकिल कार्यालयमा पठाउने तयारी गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट