विजुलीको तारमा टिपर अड्किँदा पोल ढल्यो, आधा दर्जन गाउँ अन्धकार

राजविराज — सप्तरीको छिन्नमस्ता गाउँपालिका–३, गोविन्दपुरमा शुक्रबार दिउँसो टिपरमा एनटीको तार अड्किँदा विजुलीको पोल ढलेपछि आधा दर्जन गाउँ विद्युत् विहीन बनेका छन्।

सखडा–नेउर सडकखण्ड मर्मतका लागि खटाइएको म.प्र.०३–००१ ख ७६०८ नम्बरको टिपरको ट्रलीमाथि तार अड्किँदा सडक छेउको पोल ढलेको प्रत्यक्षदर्शीहरूले बताएका छन्।

ट्रलीमा तार अड्किँदा ठूलो दुर्घटना हुने अवस्था भए पनि टिपर चालक भने जोगिएका छन्। तर, पोल ढल्दै गर्दा उच्च भोल्टेजका तार चुँडिएर आसपासको विद्युत् सेवा अवरुद्ध भएको हो।

छिन्नमस्ता गाउँपालिका अध्यक्ष विद्यानन्द चौधरीका अनुसार सखडा, गोविन्दपुर, लालापट्टी, हाटी, लोखरम, कोचाबखारी र खुदीबखारीलगायतका गाउँमा विद्युत् सेवा पूर्णरूपमा अवरुद्ध भएको छ।

उनले पोल मर्मतको कामका लागि नेपाल विद्युत् प्राधिकरण, राजविराजसँग तत्काल समन्वय भइरहेको जानकारी दिएका छन्।

घटना पछि सडक अवरुद्ध हुँदा नेउर बोर्डर हुँदै छिन्नमस्ता मन्दिरसम्मको यातायात आवागमन समेत रोकिएको छ। स्थानीयहरूले विद्युत् अवरुद्ध र सडक बन्द हुँदा दैनिक जीवनयापनमा समस्या परेको गुनासो गरेका छन्।

विद्युत् प्राधिकरणका प्राविधिक टोली घटनास्थलमा पुगेको र छिट्टै मर्मत कार्य सम्पन्न गरी विद्युत् आपूर्ति पुनः सुचारु गर्ने तयारी भइरहेको बताइएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट