तमोरको किनारमा चकनाचुर भयो ६ परिवारको सपनाः यसरी भयो बोलेरो दुर्घटना
विराटनगर— मेची राजमार्गसँगै जोडिएको तमोर करिडोर शनिबार दिउँसो आकस्मिक चीत्कारले भरियो। ताप्लेजुङको मिक्वाखोलाबाट यात्रु लिएर धरानतर्फ आउँदै गरेको मे १ ज ३०५५ नम्बरको बोलेरो पिकअप अचानक कुम्मायक गाउँपालिका–३ को कात्तिके डाँडाबाट करिब ४ सय मिटर तल तमोर नदी किनारमा खस्यो।
तीन महिलासहित ६ जनाको एकै झट्कामा ज्यान गयो। उद्धारमा खटिएका सशस्त्र प्रहरीका डीएसपी चिरञ्जीवी प्रसाईंका अनुसार ‘दुर्घटनास्थलमा शवहरू भीरमुनि यत्रतत्र छरिएका थिए, घाइतेहरू चिच्याउँदै थिए। वर्षा र दुर्गम भिरका कारण उद्धारमा निकै समस्या भयो।’
घटनास्थलमा पुगेका नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोलीले घण्टौँ लगाएर शव संकलन गरेर पाँचथर अस्पताल पु¥यायो। कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्कीले भने–‘६ जनाको मृत्यु भइसकेको छ, सनाखत प्रक्रिया चलिरहेको छ। घाइतेलाई उपचारका लागि पठाइएको छ।’
दुर्घटनामा घाइते भएका मध्ये चालक महेश लिम्बूसहित पाँच जनाको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा र एक जनाको फिदिम अस्पतालमा उपचार भइरहेको छ। उनीहरूको अवस्था गम्भीर रहेको बताइएको छ।
दुर्घटनामा कति यात्रु थिए भन्नेबारे अझै स्पष्ट हुन सकेको छैन। प्रारम्भिक विवरणमा १२ जना रहेको भनिए पनि सुरुमा ११ जना मात्र फेला परेका थिए। पछि अर्को शव भेटिएपछि मृतक संख्या ६ पुग्यो। प्रहरी अझै पनि ‘बीचमै कोही ओर्लिएको वा चढेको’ अवस्था पत्ता लगाउन लागि परेको छ।
गाडीमा अधिकांश ताप्लेजुङका नागरिक थिए। बिहान साढे ७ बजे मिक्वाखोलाबाट छुटेको गाडीमा परिवार भेट्न, काम धन्दाका लागि वा अस्पताल जान निस्केका यात्रु थिए। तर दिउँसो १ः१० बजेतिर सबैको सपना चकनाचुर भयो। दुर्घटनास्थलमा पुगेका स्थानीयले भने,–‘यो सडक साँच्चै खतरनाक छ। बारम्बार दुर्घटना हुन्छ, तर सुधार हुने नाम छैन। आज फेरि ६ घर उजाडियो।’
सडक डिभिजन कार्यालय इलामले नै मेची राजमार्ग र तमोर कोरिडोरमा वर्षाको सम्भावना भन्दै साँझ ७ बजेदेखि बिहान ६ बजेसम्म यातायात बन्द गर्ने आदेश दिएको थियो। तर दुर्घटना भएको बेला वर्षा भइरहेको थिएन। प्रहरीले प्रारम्भिक अनुसन्धानमा ‘सडकको भिरालोपन र अनियन्त्रित ड्राइभिङ’ दुर्घटनाको कारण हुन सक्ने अनुमान गरेको छ।
