मधेशमा मानव बेचबिखनको नयाँ तरिकाः मुस्लिम बालिकासँग विवाह गर्न खोज्ने चिनियाँ नागरिक पक्राउ

बारा — बारामा एक चिनियाँ नागरिकले मुस्लिम समुदायकी नेपाली बालिकासँग विवाह गर्न खोजेपछि प्रहरीले मध्यराति तीन जनालाई नियन्त्रणमा लिएको छ। करैयामाई गाउँपालिका–१, हरैयामा बुधबार राति हुँदै गरेको यो विवाह प्रहरीले रोकेको छ।

प्रहरीले बेहुला (चिनियाँ नागरिक), बेहुली (नाबालिग बालिका) र बेहुलीका बाबु जाकिर हुसेनलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय कलैयामा राखेर अनुसन्धान अघि बढाएको छ। प्रहरीले पक्राउ परेकी बालिका र चिनियाँ नागरिकको नाम सार्वजनिक गरेको छैन।

एसपी नरेन्द्र कुँवरले विवाह ‘अनमेल, शंकास्पद र कानुनी रूपमा अस्वीकार्य’ रहेको कारण गहिरो अनुसन्धान अघि बढाइएको बताए। उनका अनुसार चिनियाँ नागरिकसँग पासपोर्ट र भिसा त भेटिएको छ, तर त्यसले विवाहको उद्देश्य र प्रक्रियालाई वैध साबित गर्दैन। उनले भने, ‘अनमेल तथा बालविवाह हो÷होइन? र किन विवाह गर्न खोजिएको हो? भन्ने विषयमा विस्तृत अनुसन्धान भइरहेको छ।’

स्थानीय बासिन्दाका अनुसार मधेस क्षेत्रमा भारतमा विवाह गर्ने पुरानो चलन भए पनि चिनियाँ नागरिकसँग हुने विवाह निकै नयाँ र आश्चर्यजनक छ। उनीहरूको दाबीअनुसार एक वर्षयता यस गाउँमा मात्र तीनवटा यस्तै विवाह भएका छन्, जुन आर्थिक प्रलोभनमा बिचौलियाले मिलाइदिएको भन्दै स्थानीयले शंका गर्दै आएका छन्।

यसले गाउँमा मानव बेचबिखन, विवाहको नाममा हुने आर्थिक कारोबार र अवैध रुपमा सकृय यस्ता सञ्जालबारे प्रश्न उठाएको छ। घटना बाहिरिएपछि केही जनप्रतिनिधिहरू राति नै प्रहरी कार्यालय पुगेर पक्राउ परेकालाई छुटाउने प्रयासमा लागेका थिए।

यसले प्रहरीलाई अझै सशंकित बनाएको छ।स्थानीय नेतृत्व वा तिनका निकट समूह पनि यस्ता विवाह सञ्जालमा कुनै न कुनै रूपमा संलग्न छन् कि भन्ने प्रश्न उठेको छ। वडाध्यक्ष सोनालाल साह घटनाबाट आफू पनि आश्चर्यमा परेको बताउँछन्। उनका अनुसार, ‘चिनियाँ नागरिक नै बेहुलीको घरमा विवाहका लागि आएका थिए।’

प्रहरीका अनुसार केटा २२ वर्षको भए पनि केटीको उमेर १८ वर्ष मात्र भएकाले यो विवाह कानुनी रूपमा मान्य हुँदैन। वडाध्यक्ष साहले यो विवाह काठमाडौँमा बस्ने बेहुलीका आफन्तले मिलाएको हुनसक्ने आशंका छ।

प्रहरीले यस घटनालाई सामान्य पारिवारिक विवाहको रूपमा नभई संभावित मानव बेचबिखनको नयाँ मोडेलका रूपमा हेरिरहेको छ। खासगरी, रातको समयमा गोप्य विवाह, बिचौलियाको शंका, पछिल्ला वर्ष यस्ता विवाहको बढ्दो दर, विदेशी नागरिकको संलग्नता र कानुन अनुसार उमेर नपुग्नुले प्रहरीले अनुसन्धानलाई ‘उच्च जोखिम’ को रूपमा वर्गीकृत गरेको छ।

चिनियाँ नागरिकलाई गाउँसम्म कसले ल्यायो? विवाहका नाममा आर्थिक लेनदेन भएको होकी होईन ? काठमाडौँमा बसेका आफन्तको भुमिका के हो ? गाउँमा भएका अघिल्ला २ वटा चिनियाँ–नेपाली विवाहको वर्तमान अवस्था के छ ? भन्ने विषयमा गहिरो अनुशन्धान गर्नु पर्ने अवस्था देखिएको स्थानीय जनप्रतिनिधिहरु वताउँछन्।

जिल्ला प्रहरी कार्यालय कलैयाले नियन्त्रणमा रहेका तीनै जनामाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइरहेको छ। यसबीच, बाराका विभिन्न मुस्लिम समुदायमा फैलिँदै गएको चिनियाँ–नेपाली विवाह ट्रेन्डले स्थानीय समाजमा त्रास, शंका, र बेचबिखनको आशंकालाई झनै गम्भीर बनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट