आफ्नै क्षेत्रमा शिखर चुमिरहेका प्रकाश सपूत किन ‘जस्केला’ बाट संसद छिर्न खोज्दैछन?

काठमाडौँ — नेपाली गीतसंगीतको वर्तमान पुस्तामा प्रकाश सपूतको नाम अलग्गै उचाइमा छ। स्वर, शब्द र सामाजिक संवेदनालाई गीतमा उतार्ने क्षमताका कारण उनी केवल गायक मात्र होइनन्, एउटा सांस्कृतिक प्रभाव बनेका छन्।

करोडौँ दर्शक–श्रोताको मन जितिसकेका सपूतका गीत युट्युबका ‘करोड क्लब’ पार गरिसकेका छन्, नयाँ सिर्जनाको प्रतीक्षा दर्शकले धैर्यका साथ गर्छन्। कलाकारितामै नाम र दाम दुवै कमाइरहेका सपूत अब भने संसदको ढोकातिर मोडिएको देखिँदा धेरैलाई अनौठो लागेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्वाचन आयोगमा बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीमा ‘दलित पुरुष’ तर्फ प्रकाश सपूतको नाम दोस्रो नम्बरमा देखिएपछि यो बहस सुरु भएको हो। यसअघि उनले प्रत्यक्ष रूपमा राजनीति गर्ने संकेत कहिल्यै नदिएका कारण उनका फ्यानदेखि शुभचिन्तकसम्म आश्चर्यमा परे। सूची यथावत् रहेमा सपूत आगामी प्रतिनिधिसभामा समानुपातिक सांसद बन्ने सम्भावना उच्च छ।

तर, उनको यो सम्भावित संसदीय यात्राले सामाजिक सञ्जालमा तीव्र आलोचना पनि जन्माएको छ। कलाकारितामा सफल र आर्थिक रूपमा सबल व्यक्ति, पार्टीको संगठन निर्माण वा वैचारिक संघर्षमा खास योगदान नदेखिएकै अवस्थामा सांसद बन्न खोज्नु उपयुक्त हो कि होइन भन्ने प्रश्न उठाइएको छ। अझ दलित अधिकारका क्षेत्रमा लामो समयदेखि संघर्ष गर्दै आएका व्यक्तिहरूलाई पन्छाएर ‘सेलिब्रिटी’ लाई दलित कोटामा अघि सार्नु समानुपातिक प्रतिनिधित्वको मर्मविपरीत भएको आरोप रास्वपामाथि लागिरहेको छ।

विवादको अर्को पाटो अझ चर्को छ। रास्वपाले समानुपातिक उम्मेदवार छनोटका लागि प्राइमरी इलेक्सन गराएको थियो। दलिततर्फ सर्वाधिक मत ल्याएका विजय जैरु पार्टी स्थापनाकालदेखि संगठन निर्माणमा खटिएका व्यक्ति हुन्। तीन वर्षदेखि सुदूरपश्चिममा पार्टी विस्तारमा सक्रिय जैरुले १३ हजारभन्दा बढी सदस्यको समर्थन पाएका थिए। तर, बन्दसूचीमा उनी अटाएनन्। उनी हटे, र स्थान पाए—प्रकाश सपूत, जसलाई आलोचकहरूले ‘जस्केलाबाट छिरेको उम्मेदवार’ भन्दै टिप्पणी गरिरहेका छन्।

पार्टीभित्रैबाट आएको जानकारीअनुसार सपूतलाई काठमाडौँ महानगरका मेयर बालेन्द्र साह (बालेन) ले अघि सारेका हुन्। रास्वपाको बन्दसूचीमा बालेनको सिफारिसमा परेका करिब तीन दर्जन नाम छन—जहाँ राजनीतिक पृष्ठभूमि नभएका सेलिब्रिटी, व्यापारी र खेलाडीहरू समेत समेटिएका छन्। यही सूचीमा सपूत अट्दा विजय जैरु बाहिरिएका हुन्। जैरुलाई प्रदेशसभामा पठाइने आश्वासन दिइएको चर्चा छ, तर त्यसले उठेको प्रश्नलाई शान्त पार्न सकेको छैन।

प्रकाश सपूत सक्षम कलाकार हुन् भन्नेमा विवाद छैन। तर, यति ठूलो सांस्कृतिक प्रभाव र सम्भावना बोकेको व्यक्तिले राजनीति रोज्नुको कारण के हो भन्ने प्रश्न स्वाभाविक छ। केही समयअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको प्रशंसामा गीत गाएपछि उनी विवादमा तानिएका थिए। सामाजिक सञ्जालमा लामो समय आलोचना खेपेका सपूत अहिले पनि त्यो ‘दाग’ बाट पूर्णतः मुक्त भइसकेका छैनन्। त्यसबाट बच्न रास्वपामा आश्रय लिएको हो कि भन्ने आशंका पनि एकथरीको छ।

तर मूल प्रश्न यही हो—देश निर्माणका लागि सबै सफल व्यक्तिले अनिवार्य रूपमा राजनीति नै गर्नुपर्छ? संगीत, कला, साहित्यजस्ता क्षेत्रमा सकारात्मक प्रभाव पारेर पनि देशलाई योगदान दिन सकिँदैन र? प्रकाश सपूतजस्ता कलाकार आफ्नै क्षेत्रमा अझ धेरै दिन आवश्यक छन् भन्ने मत बलियो देखिन्छ। कारण जे भए पनि, उनको सम्भावित संसद प्रवेशले नेपाली राजनीतिमा मात्र होइन, समानुपातिक प्रतिनिधित्वको आत्मामाथि पनि गहिरो बहस जन्माएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट