प्रचण्डको पार्टीलाई सप्तरीमा ठूलो धक्काः पूर्वमन्त्री उमेश यादवको विद्रोह, सीके राउतलाई तनाव
राजविराज– सप्तरीमा पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको नेकपा (नेपाली कम्युनिष्ट पार्टी)लाई गम्भीर राजनीतिक झट्का लागेको छ। तत्कालीन नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा पूर्व सिँचाइ मन्त्री उमेश कुमार यादवले पार्टी परित्याग गर्दै उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालमा प्रवेश गरेका छन्।
यादवले सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक रूपमा माओवादी केन्द्र छोडेको घोषणा गर्दै आफ्नो नयाँ राजनीतिक यात्रा जसपा नेपालसँग अघि बढाउने जानकारी दिएका हुन्। माओवादी केन्द्रबाटै सप्तरी क्षेत्र नम्बर २ बाट संविधानसभा सदस्य निर्वाचित भएका यादव अध्यक्ष प्रचण्डका निकट नेतामध्ये एक मानिन्थे। तर, २०७९ को प्रतिनिधिसभा निर्वाचनमा पार्टी नेतृत्वबाट अपेक्षित सहयोग नपाएको गुनासोसँगै उनी सोही क्षेत्रबाट पराजित हुन पुगे।
उक्त निर्वाचनमा जनमत पार्टीका अध्यक्ष सीके राउत विजयी हुँदा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव दोस्रो र उमेश कुमार यादव तेस्रो स्थानमा सीमित भएका थिए। यही पराजयपछि माओवादी नेतृत्वसँग उनको दूरी झन् बढ्दै गएको देखिन्छ। तत्कालीन माओवादी जनसरकार प्रमुखसमेत बनेका यादव पूर्वलडाकु हुन्। भूमिगत जनयुद्धमा सक्रिय सहभागिता जनाएका, संगठन निर्माणमा लामो समय बिताएका उमेश यादवको बहिर्गमनले नेकपालाई मात्र होइन, सप्तरीको राजनीतिक समीकरणमा सीके राउत नेतृत्वको जनमत पार्टीलाई समेत चुनौती थप्ने संकेत देखिएको छ।
संगठनभन्दा व्यक्तिगत पहिचान, स्थानीय प्रभाव र विकास निर्माणका कामका कारण चर्चित यादव अब आगामी निर्वाचनमा पुनः सप्तरी क्षेत्र नम्बर २ बाटै प्रतिस्पर्धामा उत्रने तयारीमा देखिएका छन्। उपेन्द्र यादवको पार्टी संरचना र उमेशको व्यक्तिगत जनाधार मिल्दा त्यसको प्रभाव सीके राउतको राजनीतिमा कति पर्छ भन्ने प्रश्न अहिले सप्तरीको राजनीतिक वृत्तमा केन्द्रमा छ।
पार्टी छोड्नुको कारणबारे विस्तृत धारणा सार्वजनिक गर्दै उमेश यादवले आफू नौ वर्षदेखि पार्टीभित्र निरन्तर अपमान, उपेक्षा र एक्लोपन भोग्दै आएको बताएका छन्। अध्यक्ष प्रचण्डसँग आफ्ना कुरा राखेर आएको दाबी गरेका उनले पार्टीभित्र गुटबन्दी, चाकडी र अवसरवाद हावी भएको आरोप लगाएका छन्। ‘आफ्नो रगत–पसीना बगाएको पार्टीबाट बाहिर ननिस्किनु भनेर म नौ वर्षदेखि संघर्षरत थिएँ,’ यादवको भनाइ छ, ‘तर पार्टी छोडेर भागेकाहरू फर्किएपछि उनीहरूनै नेता भए। चाकडी र गुटबन्दीका आधारमा पार्टीले उनिहरुलाई बोकेर हिड्दा म जस्ता इमान्दार नेताको महत्व रहेन।’
उनले आफूसँग अवसर हुँदा परिवारवाद, नातावाद र कृपावाद नगरेको, बरु संघर्षशील कार्यकर्तालाई साथ दिएको दाबी गरेका छन्। सप्तरी र मधेसका जनताले अन्ततः आफूजस्ता संघर्षशील नेताको साथ दिने विश्वास उनले व्यक्त गरेका छन्।
यादवले संविधानसभा सदस्य निर्वाचित भएपछि गरेका कामको फेहरिस्त नै प्रस्तुत गरेका छन्। यादवले राजविराज सदरमुकामका जीर्ण सडक सुधार, भलुवाही र खाडो नदीबाट हुने क्षति न्यूनीकरण, राजविराज–कुनौली सडक, विमानस्थल सञ्चालन प्रक्रिया, रिङ रोड अवधारणा, ग्रामीण सडक विस्तार, विद्यालय भौतिक पूर्वाधार, दलित छात्रावास निर्माणलगायत दर्जनौं योजनामा आफ्नो प्रत्यक्ष भूमिका रहेको दाबी गरेका छन्।
दलित बस्तीमै शैक्षिक अभियान सुरु गर्ने, श्मशान र कब्रिस्तान संरक्षण, तराई–मधेस सिँचाइ विकास, बाढी व्यवस्थापन, सदरमुकाम बचाउ कार्यक्रमजस्ता नयाँ कार्यक्रमको सुरुआत गरेको इतिहास पनि उनले स्मरण गराएका छन्। तर, ती कामको पर्याप्त प्रचार हुन नसकेको स्वीकारोक्ति उनले गरेका छन्।
भविष्यको राजनीतिक प्रतिबद्धता सार्वजनिक गर्दै यादवले आफूलाई अवसर मिलेमा ‘जनपरिषद’ अवधारणामार्फत जनतालाई प्रत्यक्ष नीति निर्माण प्रक्रियामा सहभागी गराउने दाबी गरेका छन्। हरेक घरधुरीको सहभागितामा जनपरिषद गठन, नियमित बैठक, जनप्रतिनिधिमाथि निगरानी, नीति निर्माणमा प्रत्यक्ष जनसहभागिता र जनताको निर्देशनलाई संसदसम्म पु¥याउने अभ्यासमार्फत मनपरी तन्त्र अन्त्य गर्ने उनको प्रतिबद्धता छ।
उमेश यादवको यो विद्रोह केवल दल परिवर्तन मात्र होइन, नेकपा त्यसमाथि पनि माओवादी केन्द्रभित्रको आन्तरिक असन्तुष्टि, नेतृत्वप्रति बढ्दो अविश्वास र मधेस राजनीतिमा बदलिँदो शक्ति सन्तुलनको स्पष्ट संकेत हो। सप्तरीबाट उठेको यो राजनीतिक कम्पनले आगामी दिनमा मधेस र राष्ट्रिय राजनीतिमा कस्तो तरंग ल्याउँछ भन्ने चासो अब सबैको नजरमा छ।

