प्रधानमन्त्रीको निर्देशनले पनि टसमसाएनन् मन्त्री गुप्ता, राजीनामा नदिएर पदमा टिकिरहने संकेत

काठमाडौँ — पछिल्लो मन्त्रिपरिषद् बैठकपछि प्रधानमन्त्री सुशीला कार्कीले ३ जना मन्त्रीलाई राजीनामा दिन निर्देशन दिइएको चर्चा व्यापक छ। प्रधानमन्त्री कार्कीले ऊर्जामन्त्री कुलमान घिसिङ, खेलकुदमन्त्री बब्लु गुप्ता र सञ्चारमन्त्री जगदीश खरेललाई राजिनामा दिन निर्देशन दिएकी हुन।

उनिहरुमाथि सामाजिक सञ्जालदेखि राजनीतिक वृत्तसम्म राजीनामाको दबाब बढिरहेका बेला खेलकुद मन्त्ती गुप्ताले भने सरकारमाथि जिम्मेवारी बाँकी रहेको भन्दै तत्काल राजीनामा नदिने अडान राखेका छन्।

मन्त्री गुप्ताले आफू ‘जेनजी सरकार’ को प्रतिनिधि मन्त्री भएकाले आलोचनाबाट विचलित नहुने बताएका छन्। ‘अहिले सामाजिक सञ्जालमा अनेक आरोप लगाइँदैछ। कसैले अमेरिकाको पैसा खायो भन्छन्, कसैले पार्टीमा लाग्यो भन्छन्। सरकारबाट मैले एक रुपैयाँ पनि लिएको छैन।’– उनले भने। गुप्ताले यस्ता आरोपलाई आधारहीन भन्दै आफ्नो कामबाट जवाफ दिने दाबी गरेका छन्।

राजनीतिक दलसँग आबद्ध भएको आरोपलाई पनि उनले अस्वीकार गरेका छन्। आफू कुनै पनि पार्टीको सदस्य नरहेको र भविष्यमा पनि पार्टी राजनीतिमा नलाग्ने स्पष्ट पार्दै मन्त्री गुप्ताले अनावश्यक टिकाटिप्पणी बन्द गर्न आग्रह गरे। ‘म कुनै पार्टीमा लागेको छैन, सदस्यता लिएको पनि छैन,’ उनले भने, ‘आगामी फागुनमा हुने भनिएको १०औँ राष्ट्रिय खेलकुद प्रतियोगिता सफल बनाउनमै अहिले मेरो मुख्य ध्यान छ।’

गुप्तासहित मन्त्रीहरू स्वयंले प्रधानमन्त्रीबाट औपचारिक निर्देशन नआएको दाबी पनि गरेका छन्। यद्यपि, केही दिनअघि राष्ट्रिय स्वतन्त्र पार्टीसँग सहमति गरेका ऊर्जामन्त्री कुलमान घिसिङले राजीनामा दिने तयारी गरिरहेको चर्चा छ। त्यसको तुलनामा खेलकुदमन्त्री गुप्ताको अडान भने फरक देखिएको छ। आलोचना र दबाबबीच पनि उनले सरकारलाई ‘लथालिङ्ग’ छोडेर नभाग्ने भन्दै पदमा टिकिरहने संकेत गरेका छन्।

मन्त्रीको यो अडानले सरकारभित्रको नैतिकता र राजनीतिक जवाफदेहितामाथि प्रश्न उठाइरहेका बेला मन्त्रिपरिषद् भित्रै फरक–फरक धार देखिन थालेको संकेत गरेको छ। अब प्रधानमन्त्री कार्कीले राजीनामाबारे कस्तो निर्णय लिन्छिन् भन्ने विषयले सरकारको स्थायित्व र नैतिक मापदण्ड दुवैको परीक्षा लिने देखिन्छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट