जनशक्ति र औषधि अभावको विरोधमा वडाध्यक्षद्वारा स्वास्थ्य चौकीमा तालाबन्दी, स्वास्थ्य सेवा ठप्प
लहान– सिरहाको गोलबजार नगरपालिका–१० स्थित स्वास्थ्य चौकीमा वडाध्यक्षले नै ताला लगाएका छन्। आधारभूत स्वास्थ्य सेवा दिनुपर्ने संस्थामै तालाबन्दी भएपछि स्थानीय बासिन्दा समस्यामा परेका छन्।
वडाध्यक्ष उपेन्द्र मुखियाले सोमबार स्वास्थ्य चौकीमा तालाबन्दी गरेका हुन्। उनका अनुसार स्वास्थ्य चौकी भए पनि आवश्यक जनशक्ति अभाव, खटिएका चिकित्सक तथा स्वास्थ्यकर्मीको लापर्वाही र औषधिको अभावका कारण तालावन्दी गर्नु परेको हो। यी समस्याका कारण सेवाग्राहीले निरन्तर गुनासो गर्दै आए पनि नगरपालिकाबाट कुनै सुनुवाइ नभएपछि बाध्य भएर तालाबन्दी गर्नुपरेको उनको भनाइ छ।
मुखियाले नागरिकबाट दैनिक रूपमा गुनासा आउने गरेको बताए। ‘स्वास्थ्य चौकीमा उपचारका लागि आउने सर्वसाधारण निराश भएर फर्किन बाध्य छन्,’ उनले भने, ‘मैले पटक–पटक नगरपालिकासँग समस्या समाधानका लागि पहल गरेँ, तर बेवास्ता भयो। अन्ततः दबाब सिर्जना गर्न तालाबन्दीको बाटो रोज्नुप¥यो।’
उनका अनुसार जनशक्ति व्यवस्थापन, नियमित सेवा सञ्चालन र औषधि उपलब्ध गराउने विषयमा ठोस निर्णय नभएसम्म स्वास्थ्य चौकीको ताला खोलिने छैन। ‘यहाँको समस्या समाधान नहुँदासम्म तालाबन्दी कायम रहन्छ,’ उनले भने।
स्थानीय बासिन्दाहरूले भने वडाध्यक्षको कदमलाई सेवाप्रति देखिएको सरकारी बेवास्ताविरुद्धको बाध्यकारी प्रतिवादका रूपमा लिएका छन्। उनीहरूका अनुसार आधारभूत स्वास्थ्य सेवा जस्तो संवेदनशील विषयमा समेत स्थानीय सरकार गम्भीर नहुनु दुःखद अवस्था हो।
स्वास्थ्य चौकीमा तालाबन्दी भएपछि गर्भवती महिला, बालबालिका, वृद्धवृद्धा र दीर्घरोगीहरू प्रत्यक्ष प्रभावित भएका छन्। अब नगरपालिकाले समस्या समाधानतर्फ कस्तो पहल गर्छ भन्नेमा स्थानीयवासीको चासो केन्द्रित भएको छ।

