किर्ते नागरिक शैलेन्द्रमोहनको राष्ट्रविरुद्धको अपराधः आन्दोलन चर्काउने नाममा विदेशी हस्तक्षेप गराएर राष्ट्रिय स्वाभिमानमाथि प्रहार (श्रृंखला–५)

राजविराज — भारतीय नागरिक शैलेन्द्रमोहन झाले नेपाली राजनीतिक दलका नेता तथा कर्मचारीलाई प्रभावमा पारेर नागरिकता लिएको प्रकरण नयाँ विषय रहेन। मिडियामा पटकपटक समाचार प्रकाशित हुँदा पनि झा ‘चुप लागेर बस्नु र कुनै खण्डन नगर्नु’ले पनि उनले नागरिकता किर्ते गरेको पुष्टि हुन्छ।
शैलेन्द्रमोहन झा भारतको बिहारस्थित सितामढी नजिकको कुसहर गाउँका स्थायी बासिन्दा हुन्। उनी नेपाली नागरिकता लिनु अघि देखिनै सप्तरीको राजविराजलाई आफ्नो मुकाम बनाएर दशकौंदेखि यहाँका स्रोतसाधनको दोहन गर्दै आएका छन्। उनीमाथिको अर्को गम्भीर आरोप भने देशको स्वाभिमानमाथि प्रहार गर्नु हो।
२०७२–७३ सालको मधेश आन्दोलनको क्रममा झाले भारतीय अधिकारीलाई घरमै बोलाएर नाकाबन्दी चर्काउन भूमिका खेलेको आरोप छ। २०७३ वैशाख २८ गते राति झाले काठमाडौंस्थित भारतीय दूतावासका डेपुटी चिफ अफ मिसन विनयकुमारसहितका अधिकारीलाई राजविराजस्थित आफ्नो संस्था छिन्नमस्ता एजुकेशनल एकेडेमी (निवास पनि)मा ल्याई मधेशवादी नेताहरूलाई भेट गराएका थिए। सो भेटघाटको सम्पूर्ण संयोजन उनैले गरेका थिए।
त्यसपछिका घटनाक्रम हेर्दा आन्दोलन थप चर्किएको देखिन्छ। मधेशवादी दलका नेता÷कार्यकर्ताहरू सीमावर्ती क्षेत्रमा बसेर भारतीय सुरक्षाकर्मीको सहयोगमा नेपालतर्फ ढुंगामुढा गर्न थालेका थिए। भन्सार नाकाका पुलहरुमा बसेर आन्दोलनकारीले अवरोध गर्न थालेपछि त्यसैलाई देखाएर भारतले नेपालमाथि अघोषित नाकाबन्दी गर्यो। जसले नेपालमा खाद्यान्न, इन्धन, औषधि लगायत अत्यावश्यक वस्तुको चरम अभाव भयो।
शैलेन्द्रमोहन झा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवका नजिकका विश्वासपात्र मानिन्छन्। उनी यादवका लागि आर्थिक सहयोगी पनि हुन्। २०५० यता उनी ठेक्का–पट्टा, स्वास्थ्य, शिक्षा र व्यापारको माध्यमबाट विभिन्न आन्दोलनका नेताहरूलाई आर्थिक साथ दिँदै आएका छन्।
०७९ को संघीय चुनावमा उनी जसपाबाट समानुपातिक सांसद बन्ने दौडमा थिए। पार्टीभित्र नाम अगाडि बढाइए पनि अन्तिममा प्राविधिक कारणले उनको नाम हटाईएको स्रोतको दाबी छ। उनी अहिले पनि जसपा नेपालको केन्द्रीय सदस्यका रूपमा सक्रिय छन्।
झाको भारतप्रतिको झुकाव खुल्ला किताब जस्तै छ। उनी ०६४ सालदेखि नेपाल–भारत मैत्री संघसँग आबद्ध छन् र हाल अध्यक्षको जिम्मेवारीमा छन्। आन्दोलनका बेला भारतसँगको समन्वय र सीमामा बसेर स्थानीयलाई उक्साउने कार्यमा उनको संलग्नताको प्रमाण मिडियामा आइसकेका छन्।
उनले २०५३ सालमा सुनसरीको नरसिंह गाविस–५ बाट वंशजको आधारमा नेपाली नागरिकता लिएका थिए। तर, उनका बाबुको नागरिकता अद्यावधिक प्रमाण फेला परेको छैन। उनको सम्पूर्ण शिक्षा भारतमै भएको र विवाह पनि त्यहीं भएको हो। ससुराली परिवार भारतमै छन्। तर उनले आफ्ना छोराछोरीलाई भने नेपाली नागरिकता दिलाइसकेका छन्। श्रीमतीको भने नागरिकता अहिलेसम्म बनेको छैन।
प्रभाव कायम राख्न झाले नेपाल पत्रकार महासंघको सदस्यता मात्रै लिएका छैनन्, पत्रिका, एफएम र टेलिभिजनसमेत सञ्चालन गरिरहेका छन्। सञ्चारकर्मीको परिचय प्रयोग गरेर उनी नागरिकता प्रकरणमा समाचार लेख्ने पत्रकारलाई धम्की दिन्छन्।
झाको गतिविधिबारे स्थानीय प्रशासन, राजनीतिक दलहरू र सुरक्षा निकायका अधिकारीहरु जानकार भएपनि पैसाकै भरमा बनाएको राजनीतिक पहुँचका कारण आजसम्म कारबाही अघि बढ्न सकेको छैन। नागरिकता सम्बन्धी उजुरीहरू परेर पनि ‘भेरिफिकेसन भइसकेको’ उनी आफैं स्विकार्छन।
राजनीतिक विश्लेषकहरूका अनुसार नेपालको संवेदनशील भूराजनीतिक अवस्थामा विदेशी नागरिकले नागरिक्ता लिनु र पैसाकै बलमा राजनीतिक पहुँच बनाउनु गम्भीर चिन्ताको विषय हो। उनीहरू भन्छन— ‘विदेशी नागरिकले राजनीतिक दल कब्जा गर्नु लोकतन्त्रमाथिको ठाडो प्रहार हो। त्यसमाथि भारतीय अधिकारीलाई पाहुना बनाएर देशको स्वाभिमानमाथि प्रहार गर्नु झन चिन्ताको विषय हो।’
यस विषयमा जसपा नेपालका नेताहरुले भने हालसम्म मुख खोलेका छैनन्।
यो पनि,
- किर्ते नेपाली शैलेन्द्र मोहन झा र मौन जसपाः नेपालको राजनीतिमा भारतको छायाँ
- ‘किर्ते नेपाली’ शैलेन्द्रमोहनलाई उपेन्द्र यादवको आशीर्वादः यस्तो छ भारतीय नागरिकले चलाएको नेपाली राजनीति
- किर्ते नागरिकता र भारतीय सेटिङमा अर्बौको साम्राज्यः यस्तो छ शैलेन्द्रमोहन झाको संरक्षित जालो
- किर्ते नागरिकता लिएका भारतिय नागरिक शैलेन्द्रमोहनको दशकौँदेखि नेपालमा प्रभुत्व, प्रशासन बेखबर!