लालबन्दीमा दिनदहाडै लघुवित्तमा छुरा आतङ्कः कर्मचारीलाई कोठामा थुनेर लुटपाट
सर्लाही — मध्यान्हको व्यस्त समयमा सर्लाहीको लालबन्दी बजारस्थित एक लघुवित्त वित्तीय संस्थामा अज्ञात समूहले छुरा देखाउँदै दिनदहाडै लुटपाट मच्चाएको छ। ५–६ जनाको संगठित समूहले कार्यालयभित्रै प्रवेश गरी कर्मचारीमाथि आक्रमण गर्दै रकम र अन्य सामग्री लुटपाट गरेका छन्।
बिहीबार दिउँसो भएको घटनामा लुटेराहरूले योजनाबद्ध ढङ्गले कार्यालयमा छिरेर कर्मचारीलाई नियन्त्रणमा लिएका थिए। प्रत्यक्षदर्शीका अनुसार उनीहरूले सुरुमै कर्मचारीलाई धम्क्याउँदै कोठाभित्र थुने र विरोध गर्ने प्रयास गर्दा छुरा प्रहार गरे। छुरा प्रहारबाट केही कर्मचारी घाइते भएका छन्। उनीहरूको स्थानीय स्वास्थ्य संस्थामा उपचार भइरहेको छ।
इलाका प्रहरी कार्यालय लालबन्दीका इन्स्पेक्टर वीरेन्द्र सिंह जोखारीले ५–६ जनाको समूहले कार्यालयभित्रै लुटपाट गरेको पुष्टि गर्दै कर्मचारीमाथि धारिलो हतियार प्रहार भएको जानकारी दिए। उनका अनुसार लुटेराहरूले कर्मचारीलाई कोठामा बन्द गरेर सहज रूपमा लुटपाट गरेका थिए। घटनापछि प्रहरी टोली तत्काल घटनास्थल पुगेर अनुसन्धान थालेको छ।
स्थानीय व्यवसायी र सर्वसाधारणले बजारको मुख्य क्षेत्रमा नै यस्तो निर्भीक लुटपाट हुनु सुरक्षा संयन्त्रकै कमजोरी भएको टिप्पणी गरेका छन्। दिउँसै वित्तीय संस्था निशानामा पर्नु र अपराधीहरू सजिलै फरार हुनु गम्भीर चिन्ताको विषय बनेको छ।
पछिल्लो समय तराई–मधेश क्षेत्रमा वित्तीय संस्था र सहकारीलाई लक्षित गर्दै बढ्दै गएको आपराधिक गतिविधिले सर्वसाधारणमा असुरक्षा बढाएको छ। प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तीव्र बनाएको जनाएको छ। तर दिनदहाडै छुरा प्रहार गर्दै गरिएको यस्तो लुटपाटले लालबन्दीको शान्ति–सुरक्षा व्यवस्थामाथि ठूलो प्रश्नचिन्ह खडा गरेको छ। स्थानीयले अपराधी पक्राउ र कडा कारबाहीको माग गरेका छन्।
लोकप्रिय
बालेनको ‘घण्टी शो’ राजनीतिबीच झापामा रास्वपा कार्यालय तोडफोडः माला हुत्याएको प्रकरणले समर्थकको मन अमिलो
