मोटरसाइकल मर्मतको पैसामा सुरु विवादले सिरहामा दोहोरो झडप, ६ जना घाइते
लहान— सिरहामा मोटरसाइकल मर्मतको भुक्तानी विवादले उग्र रूप लिँदा दुई समूहबीच झडप भएको छ। जसमा ६ जना घाइते भएका छन्। मंगलबार अपराह्न करिब पौने ५ बजे सिरहा नगरपालिका–१२ सारसरमा झडप भएको हो।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार स्थानीय सलमान मियाँ र हासिम दफाली पक्षबीच मोटरसाइकल मर्मतको रकम नतिरेको विषयलाई लिएर विवाद सुरु भएको हो। भनाभनबाट सुरु भएको विवाद झडपमा परिणत भएको प्रहरीले जनाएको छ।
घटनाको सूचना प्राप्त हुनासाथ प्रहरी टोली घट्नास्थल पुगेको थियो। समयमै प्रहरी परिचालन नभएको भए घटना अझै भयावह बन्न सक्ने अनुमान गरिएको छ। झडपमा सलमान पक्षका चार जना र हासिम पक्षका दुई जना गरी कुल ६ जना घाइते भएका छन्।
प्रहरीका अनुसार घाइते हुनेहरूमा ४० वर्षीया भुटनी खातुन, ३५ वर्षीय रहमद दफाली, ५८ वर्षीय इरफान मियाँ र २६ वर्षीय लालबाबु मियाँ सलमान पक्षका छन् भने हासिम पक्षका १९ वर्षीय अरमान हुसेन र आरिफ दफाली घाइते भएका छन्। उनीहरू सबैलाई टाउको, हात तथा गर्दनमा चोट लागेको बताइएको छ।
घाइतेमध्ये अवस्था गम्भीर रहेकी भुटनी खातुनलाई थप उपचारका लागि विराटनगर रेफर गरिएको छ भने अन्य घाइतेहरूलाई प्रादेशिक अस्पताल सिरहामा भर्ना गरी उपचार भइरहेको छ। चिकित्सकहरूका अनुसार अधिकांश घाइतेको अवस्था स्थिर रहेको छ, तर केहीलाई निगरानीमा राखिएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूलाई नियन्त्रणमा लिएर थप अनुसन्धान अघि बढाएको जनाएको छ।
