रास्पवा उदयपुरमा बालेन पक्षको कब्जा, सभापतिमा कार्की विजयी

गाईघाट– वैकल्पिक राजनीति, आन्तरिक लोकतन्त्र र पारदर्शिताको नारा बोकेर उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) उदयपुरको पहिलो जिल्ला अधिवेशन अन्ततः एउटा गम्भीर राजनीतिक सन्देश छोडेर टुंगिएको छ। अधिवेशनको सुरुवात प्रतिनिधि विवाद, गुटगत आरोप, ‘दलाल माननीय मुर्दावाद’ जस्ता नाराजुलुस र निर्वाचन प्रक्रिया नै रद्द गर्नुपर्ने अवस्थासँग भयो भने अन्त्य बालेन पक्ष निकट मानिएका चित्रकुमार कार्कीको विजयसँग।

जिल्ला नेतृत्व चयनभन्दा धेरै चर्चा प्रतिनिधि छनोट, कथित हस्तक्षेप र पार्टीभित्र बढ्दो शक्ति संघर्षको भयो। अधिवेशनस्थलमा उठेका नाराले रास्वपाभित्रको असन्तुष्टि केवल सामाजिक सञ्जालमा सीमित रहेन, अब प्रत्यक्ष संगठनभित्रै विस्फोट हुन थालेको संकेत दिएको छ।

आइतबार निर्वाचन हुने तयारी भइरहेका बेला प्रतिनिधिको वैधता र मतदान अधिकारलाई लिएर विवाद चर्किएको थियो। बन्दसत्रमै प्रतिनिधिहरूले विरोध जनाएपछि ‘हाम्रो पैसा फिर्ता गर’, ‘तेरो पार्टी चाहिँदैन’, ‘दलाल माननीय मुर्दावाद’ र ‘पार्टी हस्तक्षेप बन्द गर’ जस्ता नाराले अधिवेशनस्थल गुञ्जिएको थियो। विवाद यति बढ्यो कि निर्वाचन समितिले सम्पूर्ण कार्यतालिका रद्द गर्दै प्रक्रिया पुनः सुरु गर्न बाध्य भयो।

विवादको केन्द्रमा प्रतिनिधि छनोट प्रक्रिया थियो। असन्तुष्ट पक्षले विधानविपरीत प्रतिनिधि चयन गरेर निश्चित समूहलाई फाइदा पुग्ने वातावरण बनाइएको आरोप लगाएको थियो। केही प्रतिनिधिले जिल्ला नेतृत्व चयनमा माथिल्लो तहबाट प्रभाव पार्ने प्रयास भएको दाबीसमेत गरेका थिए।

यही विवादका बीच सोमबार पुनः उम्मेदवारी दर्ता गराइयो र मतदान सम्पन्न गरियो। अन्तिम मतपरिणामअनुसार चित्रकुमार कार्कीले १ सय १३ मत प्राप्त गर्दै जिल्ला सभापतिमा विजय हासिल गरे। उनका निकटतम प्रतिद्वन्द्वी जनक बस्नेतले ८१ मत पाए।

कार्कीको विजयलाई पार्टीभित्र सामान्य संगठनात्मक परिणामका रूपमा मात्र हेरिएको छैन। अधिवेशन अवधिभर उनलाई प्रधानमन्त्री बालेन्द्र साह (बालेन) निकट समूहको उम्मेदवारका रूपमा चर्चा गरिएको थियो। यद्यपि यसबारे पार्टीको आधिकारिक धारणा सार्वजनिक भएको छैन। तर अधिवेशनभर देखिएको ध्रुवीकरणले परिणामलाई समेत राजनीतिक अर्थ दिएको छ।

कार्कीसँगै उनको समूहले अधिकांश प्रमुख पदमा सफलता प्राप्त गरेको छ। उपसभापतिमा किरण राउत १ सय १ मतसहित निर्वाचित भए भने सचिवमा सूर्यबहादुर लामा ९६ मत प्राप्त गर्दै विजयी भए। सहसचिवमा सूर्यकुमार राई १ सय ११ मतसहित निर्वाचित भए।

जिल्ला सदस्यतर्फ कौसिला कार्की, अम्बरबहादुर तामाङ, गुरुदेव कार्की, हेमकुमारी चौधरी, सुशीला थापा, बब्लु गुप्ता, पवित्रा भट्टराई र सुनिता चौधरी निर्वाचित भएका छन्। क्षेत्रीय संरचनातर्फ क्षेत्र नम्बर १ को सभापतिमा उद्दव अधिकारी ५९ मतसहित विजयी भए भने क्षेत्र नम्बर २ को सभापतिमा सामर्थ थापा निर्वाचित भएका छन्। क्षेत्र नम्बर १ (क) का सभापति पवन कार्की र १ (ख) का उपसभापति बासु थापा निर्विरोध चयन भएका छन्।

तर परिणाम सार्वजनिक भइसकेपछि पनि अधिवेशनका क्रममा उठेका प्रश्नहरू भने सेलाएका छैनन्। वैकल्पिक राजनीतिको दाबी गर्ने दलभित्र प्रतिनिधि विवाद किन यति गहिरियो ? नेतृत्व चयन प्रक्रियामा हस्तक्षेप भएको आरोप किन उठ्यो ? आफ्नै सांसदविरुद्ध ‘दलाल माननीय’ को नारा किन लाग्यो ? यस्ता प्रश्नहरूले नयाँ नेतृत्वको वैधानिकताभन्दा बढी पार्टीको आन्तरिक संस्कृतिमाथि बहस सुरु गराएका छन्।

विशेषगरी उदयपुरमा देखिएको दृश्यलाई सिरहा र सप्तरीका पछिल्ला घटनासँग जोडेर हेरिएको छ। सिरहामा जिल्ला सभापति चयनलाई लिएर सांसद हस्तक्षेपको आरोप लाग्यो। सप्तरीमा परिवारवाद र राजनीतिक उत्तराधिकारको बहस चर्कियो। उदयपुरमा भने प्रतिनिधि विवादले अधिवेशन नै अवरुद्ध बनायो।

यिनै घटनाहरूले रास्वपाको जिल्ला अधिवेशनहरू संगठन निर्माणको अभ्यासभन्दा बढी शक्ति केन्द्र कब्जाको प्रतिस्पर्धामा रूपान्तरण हुन थालेको संकेत दिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। चित्रकुमार कार्कीले निर्वाचन जितेका छन्। तर उनले अब केवल संगठनको नेतृत्व मात्र सम्हाल्नु छैन। विवादले विभाजित बनेको संगठनलाई एकताबद्ध गर्ने, असन्तुष्ट पक्षको विश्वास जित्ने र अधिवेशनले उठाएका प्रश्नहरूको जवाफ दिने चुनौती पनि उनकै काँधमा आएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट