सिरहामा साइकलयात्रीलाई ठक्कर दिएर भागेका स्कर्पियो चालक दुई दिनपछि पक्राउ, घाईतेको मृत्यु
लहान– साइकलमा सवार एक व्यक्तिलाई ठक्कर दिएर फरार भएका स्कर्पियो चालकलाई प्रहरीले दुर्घटनाको दुई दिनपछि पक्राउ गरेको छ। प्रहरीले चालकसँगै दुर्घटनामा संलग्न स्कर्पियोसमेत बरामद गरेको छ।
सिरहाको गोलबजार नगरपालिका–४ निपनिया टोलस्थित पूर्व–पश्चिम राजमार्गमा मंसिर ८ गते साँझ करिब ७ बजे स्कर्पियोको ठक्करबाट साइकलयात्री बसन्त महराको मृत्यु भएको थियो। करिब ५० वर्षीय महरालाई ठक्कर दिएपछि स्कर्पियो चालक घटनास्थलबाट फरार भएका थिए।
ठक्करबाट गम्भीर घाइते भएका महरालाई उपचारका लागि गोलबजार हेल्थकेयर पुर्याइएको थियो। तर उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ।
घटनापछि फरार चालक र ठक्कर दिने सवारीसाधनको खोजीमा जुटेको प्रहरीले अनुसन्धानका क्रममा स्कर्पियोको पहिचान गरेको थियो। त्यसपछि मंसिर १० गते बिहान करिब ११ बजे धनगढीमाई नगरपालिका–९ जीरोमाइलस्थित एक घरमा लुकेर बसेको अवस्थामा चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा धनुषाको मिथिला नगरपालिका–४ बहारबिगाहाका करिब ४२ वर्षीय बिहारी महरा छन्। प्रहरीले दुर्घटनामा प्रयोग भएको बा.प्र.०१–०२५ च ७३९६ नम्बरको स्कर्पियो पनि नियन्त्रणमा लिएको छ।
पक्राउ परेका चालक र बरामद स्कर्पियोलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि इलाका प्रहरी कार्यालय गोलबजारमा राखिएको प्रहरीले जनाएको छ।
लोकप्रिय
सरकारी स्रेस्ता नै हेरफेर गरेर अर्काको जग्गा हत्याएको आरोपमा मालपोत प्रमुखदेखि वडाध्यक्षसम्म सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा !

