चेकिङ छल्न खोज्दा भागेको स्कोर्पियो कारमा ठोक्किएर दुर्घटना, ३९८ किलो गाँजा बरामद
विराटनगर– प्रहरीको चेकिङ छल्दै भाग्न खोजेको स्कोर्पियो दुर्घटनामा परेपछि विराटनगरबाट ३९८ किलो गाँजा बरामद भएको छ। शनिबार राति विराटनगर महानगरपालिका–३ आयल निगम नजिकै नियन्त्रणमा लिइएको को १ च ७३९९ नम्बरको स्कोर्पियोबाट १३ वटा पोकामा लुकाइराखिएको गाँजा बरामद भएको हो।
रोक्न खोज्दा तीव्र गतिमा भागेको स्कारपियोले सोही दिशाबाट आउँदै गरेको कारलाई ठक्कर दिएको थियो। त्यसपछि चालक स्कोर्पियो छाडेर फरार भएका छन्। मोरङ प्रहरीका अनुसार शनिबार राति करिब १० बजे कोशी राजमार्गअन्तर्गत आयल निगम नजिक प्रहरी चौकी बरगाछीबाट खटिएको टोलीले आकस्मिक चेकिङ गरिरहेको थियो।
त्यही क्रममा इटहरीबाट विराटनगरतर्फ आउँदै गरेको स्कोर्पियोलाई प्रहरीले रोक्न खोजेको थियो। तर चालकले गाडी मोडेर चेकिङबाट उम्किने प्रयास गरेका थिए। भाग्ने क्रममा स्कोर्पियोले बागमती प्रदेश ०१–०३० च ४८२२ नम्बरको कारलाई पछाडिबाट ठक्कर दिएको थियो। दुर्घटनापछि स्कोर्पियो चालक गाडीमै गाँजा छाडेर फरार भएका थिए।
प्रहरीले तत्काल स्कोर्पियो नियन्त्रणमा लिएर खानतलासी गर्दा गाडीभित्र १३ वटा पोकामा प्याक गरी लुकाइराखिएको ३९८ किलो गाँजा फेला पारेको मोरङ प्रहरी प्रमुख एसपी कवित कटवालले जानकारी दिए।
‘चेकजाँचका क्रममा गाडी रोक्न खोज्दा चालकले भगाउन खोजेका थिए। त्यसक्रममा अर्को कारलाई ठक्कर दिएपछि गाडी नियन्त्रणमा लिएर खानतलासी गर्दा गाँजा भेटिएको हो,’ एसपी कटवालले भने।
दुर्घटनामा परेको कारको पछाडिको भागमा क्षति पुगेको छ। विराटनगर महानगरपालिका–३ का ४६ वर्षीय कार चालक धीरज सिंह भने सकुशल रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा मानवीय क्षति भएको छैन।
घटनाको जानकारी पाएपछि एसपी कटवालसहित वडा प्रहरी कार्यालय विराटनगरका डीएसपी लोकेन्द्र सिंह गुरुङको टोली घटनास्थल पुगेको थियो। प्रहरीले गाँजा बोकेको स्कोर्पियोसँगै ठक्कर खाएको कारसमेत नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङमा राखेको छ।
फरार स्कोर्पियो चालकको पहिचान र खोजी भइरहेको प्रहरीले जनाएको छ। बरामद गाँजा कहाँबाट ल्याइएको थियो, कहाँ पु¥याउन लागिएको थियो र यसको ओसारपसारमा अन्य को–को संलग्न थिए भन्नेबारे प्रहरीले अनुसन्धान अघि बढाएको छ।
प्रहरीले चालक पक्राउ परेपछि गाँजाको स्रोत, गन्तव्य र ओसारपसारमा संलग्न व्यक्तिबारे थप तथ्य खुल्ने जनाएको छ।

