बूढीगण्डकी बाढी : पाँच गोठाला बेपत्ता, पुल र जलविद्युत् आयोजनाको निर्माण क्याम्प बगायो
गोरखा—उत्तरी गोरखाको बूढीगण्डकी नदीमा आएको आकस्मिक बाढीले ठूलो भौतिक क्षति पुर्याएको छ। बाढीमा परी लेकमा रहेका पाँच जना गोठाला सम्पर्कविहीन भएका छन् भने विभिन्न स्थानका पुल, घर र ३४१ मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजनाको निर्माण क्याम्पसमेत बगाएको छ।
चुमनुब्री गाउँपालिका अध्यक्ष निमा लामाका अनुसार आइतबार बिहान करिब साढे ४ बजे चुम्चेतस्थित उग्युलुङ खोला र स्यार खोला क्षेत्रबाट आएको बाढी तथा पहिरोका कारण बूढीगण्डकी नदी केहीबेर थुनिएको थियो। नदीमा जम्मा भएको पानी एक्कासि खुलेपछि ठूलो बाढी आएको उनले बताए।
बाढीले चुमनुब्री गाउँपालिकाका सल्लेरी, घट्टेखोला, जगत र सिर्दिबासलगायतका क्षेत्रमा क्षति पुर्याएको छ। स्थानीय बासिन्दा बाढीको सूचना पाएपछि सुरक्षित स्थानतर्फ भागेकाले ठूलो मानवीय क्षति हुनबाट जोगिएको अध्यक्ष लामाको भनाइ छ। तर, सम्पर्कविहीन पाँच गोठालाको अवस्था अझै खुलेको छैन।
बाढीले विभिन्न स्थानका पुलसमेत बगाएको छ। प्रहरीका अनुसार चुमनुब्री–३ न्याकचेत र सिर्दिबास जोड्ने पुरानो झोलुङ्गे पुल, धार्चे–५ माछिखोलाबाट केरौजा जोड्ने झोलुङ्गे पुल र आरुघाट गाउँपालिका–२ र ३ जोड्ने सोतीस्थित फलामे पुल बाढीले बगाएको छ। अन्य पुलमा समेत क्षति पुगेको विवरण आएको छ।
सिर्दिबासका रामबहादुर गुरुङको एउटा कच्ची घर बगाएको र अर्को घरमा बाढी पसेको प्रहरीले जनाएको छ। धार्चे–५ माछिखोलाको तल्लो बस्तीमा बाढी पस्दा पाँचदेखि सातवटा घर र त्यति नै संख्यामा टहरामा क्षति पुगेको प्रारम्भिक विवरण छ। धार्चे–३ सल्लेरीका २० देखि २२ वटा घर उच्च जोखिममा रहेको प्रहरीको भनाइ छ।
बाढीले बूढीगण्डकी नदीमा निर्माणाधीन ३४१ मेगावाट क्षमताको जलविद्युत् आयोजनाको निर्माण क्याम्पसमेत बगाएको छ। चुमनुब्री गाउँपालिका अध्यक्ष लामाका अनुसार साहस ऊर्जा लिमिटेडले निर्माण गरिरहेको आयोजनाको क्याम्पमा ठूलो क्षति पुगेको छ।
निर्माण कार्यमा संलग्न सोवित निर्माण सेवाका सञ्चालक सोवित श्रेष्ठले आयोजनास्थलका संरचना बाढीले बगाएको बताएका छन्। उनका अनुसार साइट निर्माणको काम करिब ९६ प्रतिशत सकिएको थियो र यही असोजमा हस्तान्तरण गर्ने तयारी भइरहेको थियो।
श्रेष्ठका अनुसार सम्भावित जोखिम देखिएपछि बिहानै कर्मचारीलाई सुरक्षित स्थानतर्फ जान भनिएकाले आयोजनास्थलमा मानवीय क्षति नभएको जानकारी प्राप्त भएको छ। बाढीबाट भएको समग्र भौतिक क्षतिको विस्तृत विवरण संकलन हुन बाँकी छ। सम्पर्कविहीन गोठालाको खोजी तथा उनीहरूको अवस्थाबारे पनि थप विवरण आउन बाँकी छ।

