खोटाङ जाँदै गरेको सुमो सिन्धुलीमा सुनकोसीमा खस्यो, तीन महिलाको मृत्यु, तीन जना बेपत्ता
काठमाडौँ— काठमाडौंबाट खोटाङतर्फ जाँदै गरेको सुमो सिन्धुलीमा सडकबाट करिब २०० मिटर तल सुनकोसी नदीमा खस्दा तीन महिलाको मृत्यु भएको छ। दुर्घटनामा तीन जना बेपत्ता भएका छन् भने चालकसहित चार जना घाइते भएका छन्।
आइतबार बिहान करिब साढे २ बजे सिन्धुलीको फिक्कल गाउँपालिका–६ नागथानस्थित मध्यपहाडी लोकमार्गमा को.१ ज २९७६ नम्बरको सुमो दुर्घटनामा परेको हो। जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डीएसपी विजय श्रेष्ठका अनुसार घटनास्थलमा तीन महिलाको शव फेला परेको छ। मृतकहरूको पहिचान खुल्न सकेको छैन।
दुर्घटनामा घाइते हुनेमा ओखलढुंगा निवासी २९ वर्षीय चालक आशिष विष्ट, खोटाङकी ३८ वर्षीया सम्झना राई, उनकी १२ वर्षीया छोरी सिवानी र १३ वर्षीय अंकित विक छन्। घाइतेहरूलाई उद्धार गरी उदयपुरको घुर्मीस्थित जनसेवा हेल्थ सेन्टरमा उपचारका लागि लगिएको छ। घाइतेमध्ये सम्झना राईको अवस्था गम्भीर रहेको श्रेष्ठले बताएका छन्।
चालकको भनाइअनुसार दुर्घटनापछि तीन जना अझै बेपत्ता छन्। सुमोमा चालकसहित १० जना सवार रहेको बताइएको छ। तर मृत्यु भएका र बेपत्ता यात्रुको पहिचान तथा उनीहरूबीचको सम्बन्धबारे विस्तृत विवरण खुल्न बाँकी छ।
दुर्घटनाको सूचना पाएपछि इलाका प्रहरी कार्यालय खुर्कोटबाट प्रहरी टोली घटनास्थलमा खटिएको छ। प्रहरीले सुनकोसी नदीमा खसेको सुमोबाट यात्रुको खोजी तथा उद्धार कार्य जारी राखेको जनाएको छ।
रातिको समयमा भएको दुर्घटनाको कारण खुलिसकेको छैन। प्रहरीले दुर्घटनाबारे थप अनुसन्धान गरिरहेको छ।

