मजिद अन्सारीको प्रश्न– ‘पत्रकार रवि लामिछाने कहाँ हराए? सीधा कुरा जनतासँग चलाउने पत्रकारिता अझै ज्यूँदो छ?’

काठमाडौँ– पत्रकारमाथि प्रहरीको धरपकडपछि सरकार र प्रहरीबीचको सम्बन्ध तथा राजनीतिक जवाफदेहितामाथि प्रश्न उठेको छ। जेनजी अभियन्ता माजिद अन्सारीले प्रधानमन्त्री बालेन्द्र साह र गृहमन्त्री सुधन गुरुङको जिम्मेवारीमाथि प्रश्न उठाउँदै पूर्वपत्रकार तथा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई पत्रकारिताको धर्म सम्झाएका छन्।

प्रहरीले सञ्चारमाध्यमका कार्यालयमै पुगेर पत्रकारलाई नियन्त्रणमा लिएको घटनापछि रास्वपाले विज्ञप्ति जारी गर्दै प्रहरीको कार्यप्रति आपत्ति जनाएको थियो। प्रधानमन्त्रीको सचिवालयबाट भने घटनाबारे आफूहरूलाई पूर्वजानकारी नभएको प्रतिक्रिया आएको थियो। प्रहरीको कारबाही, सत्तारूढ दलको आपत्ति र प्रधानमन्त्री सचिवालयको अनभिज्ञताबीच देखिएको विरोधाभासलाई अन्सारीले आफ्नो प्रश्नको केन्द्र बनाएका छन्।

उनले सरकारको कामबारे सत्तारूढ दललाई जानकारी नहुने र प्रहरीको कामबारे सरकार नै बेखबर हुने अवस्था कसरी स्वीकार्य हुन सक्छ भन्दै प्रश्न गरेका छन्। ‘सरकारको काम रास्वपालाई थाहा नहुने र प्रहरीको काम सरकारलाई थाहा नहुने, यो लगभग दुईतिहाइको सरकार रास्वपा संसदीय दलले बनाएको सरकार हो भने आफ्नै संसदीय दलको निर्देशन र नियन्त्रणमा नरहेको सरकारको राजनीतिक वैधता र जवाफदेहिता कहाँ र कसरी स्थापित हुन्छ?’ अन्सारीले प्रश्न गरेका छन्।

उनको प्रश्न प्रहरीको कारबाहीमा प्रधानमन्त्री र गृहमन्त्रीको प्रत्यक्ष निर्देशन थियो कि थिएन भन्नेमा मात्रै सीमित छैन। प्रहरी सरकारको निर्देशन र नियन्त्रणमा रहने संवैधानिक तथा कानुनी व्यवस्थाको कार्यान्वयन कसरी भइरहेको छ भन्ने विषय पनि उनले उठाएका छन्।

संविधान र प्रहरी ऐनले नेपाल प्रहरीलाई नेपाल सरकारको निर्देशन तथा नियन्त्रणमा रहने व्यवस्था गरेको उल्लेख गर्दै अन्सारीले प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनबिना प्रहरी सञ्चालन भइरहेको हो भने उनीहरूको राजनीतिक तथा नैतिक जिम्मेवारी के हुन्छ भन्ने प्रश्न गरेका छन्।

‘यदि प्रधानमन्त्री र गृहमन्त्रीको निर्देशनबमोजिम प्रहरी चल्दैन भने कुन नैतिकताको आधारमा तपाईंहरूलाई नेपाल सरकारको प्रधानमन्त्री तथा गृहमन्त्री भनिदिनुपर्ने वा मानिदिनुपर्ने?’ उनको प्रश्न छ।

अन्सारीले अहिलेको घटनालाई जेनजी आन्दोलनका क्रममा प्रहरीबाट भएको बल प्रयोग र त्यसबेला उठाइएको राजनीतिक जवाफदेहिताको मागसँग पनि जोडेर हेरेका छन्। आन्दोलनका क्रममा प्रहरीले गोली चलाउँदा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई जिम्मेवार बनाउन तत्कालीन काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साह र जेनजी आन्दोलनका अभियन्ता सुधन गुरुङले चर्को आवाज उठाएको उनले स्मरण गराएका छन्।

हिजो तत्कालीन सरकारका प्रमुख र गृहमन्त्रीलाई प्रहरीको कारबाहीको जिम्मेवारी लिनुपर्ने माग गर्ने अहिलेका प्रधानमन्त्री र गृहमन्त्रीले पत्रकारमाथि भएको धरपकडको घटनामा पनि जवाफ दिनुपर्ने उनको तर्क छ।

अन्सारीले प्रश्न गरेका छन—हिजो ओली र लेखकलाई जिम्मेवार बनाउन माग गर्ने बालेन र सुधन आज आफूहरू सरकारमा हुँदा प्रहरीको कारबाहीप्रति जिम्मेवारी लिनुपर्ने कि नपर्ने? उनको आलोचनाको अर्को निशाना रास्वपा सभापति रवि लामिछाने बनेका छन्। पूर्वपत्रकारसमेत रहेका लामिछानेलाई लक्षित गर्दै अन्सारीले आफूले अहिलेको अवस्थामा देशमा पत्रकार रवि लामिछाने खोजिरहेको बताएका छन्।

‘मैले यो देशमा पत्रकार रवि लामिछाने खोजिरहेको छु,’ उनले लेखेका छन्। लामिछाने पत्रकारितामा सक्रिय रहँदा सञ्चालन गरेको ‘सीधा कुरा जनतासँग’ कार्यक्रमको स्मरण गर्दै अन्सारीले अहिलेको घटनामा उनको पत्रकारिताको भूमिका कहाँ छ भन्ने प्रश्न गरेका छन्। पूर्वपत्रकार लामिछानेले सत्तारूढ दलको सभापतिको हैसियतमा मात्रै नभई पत्रकारिताको धर्म निर्वाह गर्ने व्यक्तिका रूपमा पनि यस विषयमा बोल्नुपर्ने उनको आशय छ।

‘पूर्वपत्रकार माननीय रवि लामिछानेभित्रको पत्रकारिता जिउँदै भएको भए आज सीधा कुरा जनतासँग भन्ने कार्यक्रम कस्तो सुनिन्थ्यो होला?’ अन्सारीले प्रश्न गरेका छन्। पत्रकारमाथि प्रहरीको धरपकड भएको घटनामा प्रहरीको आधिकारिक स्पष्टीकरणले पनि थप प्रश्न जन्माएको छ। नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डीआईजी अविनारायण काफ्लेले पत्रकारलाई थुन्ने वा नियन्त्रणमा राख्ने नियत नभई विषय बुझ्न मात्रै खोजिएको बताएका थिए। उनले प्रधानमन्त्री कार्यालयबाट निर्देशन नभई चासो आएको र त्यसपछि प्रहरीलाई पनि विषय बुझ्नुपर्ने लागेको बताएका थिए।

प्रवक्ता काफ्लेको भनाइअनुसार प्रहरी र पत्रकारबीच दूरी नरहेको र समाचारको विषयमा अनौपचारिक रूपमा बुझ्न खोजिएको थियो। तर पत्रकारलाई सम्बन्धित कार्यालयमै पुगेर नियन्त्रणमा लिने, मोबाइल जाँच गर्ने र समाचारकक्षमा प्रहरी प्रवेश गरेको दृश्य सार्वजनिक भएपछि प्रहरीको कार्यशैलीको आलोचना भएको छ।

यही घटनामा प्रहरीको स्पष्टीकरण, प्रधानमन्त्री सचिवालयको अनभिज्ञता र रास्वपाको आपत्तिबीच देखिएको अन्तरले जिम्मेवारी कसले लिने भन्ने प्रश्नलाई थप पेचिलो बनाएको छ। प्रधानमन्त्री कार्यालयबाट आएको भनिएको ‘चासो’ कसले व्यक्त गरेको थियो, प्रहरीलाई त्यसबारे कसले जानकारी गरायो र पत्रकारलाई कार्यालयमै पुगेर नियन्त्रणमा लिनुपर्ने निर्णय कसले ग¥यो भन्ने विषय अझै स्पष्ट हुन बाँकी छ।

अन्सारीको प्रश्नको मूल आशय पनि यही हो—सरकारको निर्देशन र नियन्त्रणमा रहने प्रहरीको कामबारे सरकार नै बेखबर रहने हो भने त्यसको राजनीतिक जिम्मेवारी कसले लिने? हिजो प्रहरीको बल प्रयोगमा तत्कालीन सरकारलाई जवाफदेही बनाउन माग गर्ने नेतृत्वले आज आफ्नै सरकारको कार्यशैलीबारे पनि उही मापदण्ड लागू गर्छ कि गर्दैन?

पत्रकारमाथिको धरपकडमा प्रधानमन्त्री वा गृहमन्त्रीको प्रत्यक्ष निर्देशन रहेको पुष्टि भएको छैन। तर प्रहरी सरकारको नियन्त्रणमा रहने संवैधानिक तथा कानुनी व्यवस्थाअनुसार घटनाको निर्णय प्रक्रिया, आदेशको स्रोत र जिम्मेवारीको तह स्पष्ट पार्नु सरकारको दायित्व हो। अन्सारीले उठाएको प्रश्न यही जवाफदेहितासँग जोडिएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट