गौरमा २८ वर्षीय राकेशमाथि पाँच राउन्ड गोली, शरीरमा छर्रैछर्रा; आक्रमणकारी अझै बेपत्ता

रौतहट– रौतहटको सदरमुकाम गौरमा रातिको समयमा एक युवकलाई लक्षित गरी अन्धाधुन्ध गोली प्रहार भएको छ। गौर नगरपालिका–४ गढवा टोलस्थित पानी ट्यांकी नजिक मंगलबार राति करिब सवा ९ बजे भएको आक्रमणमा २८ वर्षीय राकेश कुमार यादव गम्भीर घाइते भएका छन्।

पाँच राउन्ड गोली प्रहार भएको प्रारम्भिक विवरण छ। आक्रमणकारी को हुन् र यादवलाई नै किन निशाना बनाइयो भन्ने खुलेको छैन। रामविलास यादवका छोरा राकेशमाथि अज्ञात व्यक्ति वा समूहले एक्कासि गोली चलाएको स्थानीयले बताएका छन्। गोलीको आवाजले बस्तीमा त्रास फैलिएको थियो। आक्रमणपछि घाइते यादवलाई तत्काल उद्वार गरी उपचारका लागि प्रादेशिक अस्पताल गौर पुर्‍याइएको थियो।

अवस्था गम्भीर भएपछि उनलाई थप उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडिसिटी बयोधा अस्पताल पठाइएको हो। अहिले उनको त्यहीँ उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता एवं डीएसपी वसन्त गौतमले बताएका छन्।

प्रहरीका अनुसार गोलीका छर्रा यादवको शरीरका विभिन्न भागमा लागेका छन्। प्रारम्भिक विवरणमा ढाडमा तीन, दाहिने पाखुरामा एक र दुवै खुट्टामा दुई गरी छवटा छर्रा लागेको उल्लेख छ। तर चिकित्सकबाट प्राप्त सिटी स्क्यानको जानकारी उद्धृत गर्दै डीएसपी गौतमले पिठ्युँमा दुई र हातमा एक गरी तीनवटा गोली लागेको देखिएको बताएका छन्।

शरीरका हात, पाखुरा र पिठ्युँलगायतका भागमा गोलीका घाउ देखिएका छन्। अवस्था गम्भीर भए पनि यादव चिकित्सकसँग कुराकानी गर्न सक्ने अवस्थामा रहेको प्रहरीको भनाइ छ। घटनास्थलमा ७.६२ एमएम पेस्तोलका तीनवटा खाली खोका फेला परेको प्रहरीले जनाएको छ। पाँच राउन्ड गोली प्रहार भएको स्थानीयको भनाइ र घटनास्थलमा भेटिएका तीनवटा खोका घटनाको अनुसन्धानका लागि महत्वपूर्ण प्रमाण हुन सक्छन्।

गोली प्रहार गर्ने व्यक्ति वा समूहको पहिचान हुन सकेको छैन। यादवसँग कसैको व्यक्तिगत रिसइबी थियो कि योजनाबद्ध रूपमा उनलाई निशाना बनाइएको हो भन्ने पनि खुलेको छैन। घटनाको जानकारी पाएलगत्तै जिल्ला प्रहरी कार्यालयबाट टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थलको अनुसन्धानसँगै सम्भावित आक्रमणकारीको खोजी सुरु गरेको जनाएको छ।

सदरमुकामकै बस्तीमा रातिको समयमा भएको यो गोलीकाण्डले गौरको सुरक्षा व्यवस्थामाथि प्रश्न उठाएको छ। पाँच राउन्ड गोली प्रहार गरेर आक्रमणकारी फरार हुनुले घटनाको गम्भीरता थप बढाएको छ। तर अहिलेसम्म न आक्रमणकारीको पहिचान खुलेको छ, न गोली प्रहार गर्नुको कारण नै।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट