‘पैसा डबल’ ठगी धन्दाका आरोपी हनुमानी फेरि पक्राउ, नयाँ उजुरीमा एक लाख ठगीको आरोप; पुरानो मुद्दा अझै अदालतमा

राजविराज– ‘पैसा डबल गरिदिन्छु’ भन्दै सर्वसाधारणलाई प्रलोभनमा पारेर रकम असुल्ने आरोप लागेका सप्तरीका हनुमानी भनिने रामबहादुर रजक फेरि प्रहरी नियन्त्रणमा परेका छन्। यसअघि पनि ठगी आरोपमा पक्राउ परेर धरौटीमा छुटेका उनीविरुद्ध नयाँ उजुरी परेपछि प्रहरीले मंगलबार राति घरबाटै पक्राउ गरेको हो।

सप्तरीका प्रहरी प्रमुख एसपी रुपक खड्काका अनुसार रजकविरुद्ध एक लाख रुपैयाँ ठगी गरेको आरोपमा उजुरी परेको थियो। सोही उजुरीका आधारमा उनलाई पक्राउ गरिएको हो। एसपी खड्काले यस प्रकरणमा अन्य व्यक्तिहरू पनि प्रहरीको सम्पर्कमा आइरहेको र रजकविरुद्धको पुरानो मुद्दासमेत विचाराधीन रहेको बताए। प्राप्त विवरणअनुसार रजकविरुद्ध उजुरी दिने व्यक्ति उदयपुरको गाईघाट–११ का कार्की थरका हुन्।

तिलाठी कोइलाडी गाउँपालिका–७, बभनगामा टोलस्थित घरमा रहेका रजकलाई पक्राउ गर्न प्रहरीले राति ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरेको थियो। स्थानीयका अनुसार प्रहरीले गाउँ नै घेरा हालेको थियो। दुई–तीन ट्रक प्रहरी गाउँ पुगेपछि एकाएक हलचल मच्चिएको स्थानीय स्रोतको दाबी छ।

प्रहरीले रजकलाई घरको तेस्रो तलाबाट नियन्त्रणमा लिएर घर खानतलासीसमेत गरेको बताइएको छ। तर खानतलासी र बरामदी मुचुल्काको विस्तृत विवरण सार्वजनिक भएको छैन। स्रोतका अनुसार रजकले कार्कीसँगै पैसा डबल गरिदिने सर्तमा पैसा असुलेका थिए। तर, डबल पैसा लिँन जाँदा कुटपिट गरी लखेटिएको जनाईएको छ।

रजकको यो पहिलो पक्राउ भने होइन। ‘पैसा डबल गरिदिने’ प्रलोभन देखाएर दर्जनौँ व्यक्तिबाट करोडौँ रुपैयाँ ठगी गरेको आरोपमा उनी यसअघि २०८१ पुसमा पनि पक्राउ परेका थिए। आफुविरुद्ध उजुरी परेको जानकारी पाएपछि मोबाइल बन्द गरेर सम्पर्कविहीन भएका उनलाई प्रहरीले सुराकीका आधारमा नियन्त्रणमा लिएको थियो। त्यस प्रकरणमा उनको ठगी धन्दामा समूह नै संलग्न रहेको प्रहरी स्रोतको दाबी थियो।

पक्राउ अघि ठगीमा परेको भन्दै एक समूह रकम उठाउन गाडीसहित उनको घर पुगेको र त्यसपछि रजकको समूहले उनीहरूलाई कुटपिट गर्नुका साथै गाडीसमेत तोडफोड गरेको आरोपसमेत सार्वजनिक भएको थियो। उक्त घटनापछि प्रहरीसम्म पुगेको विवाद मिलापत्रमा टुंग्याइएको दाबी गरिएको थियो।

पक्राउपछि रजक करिब तीन महिना थुनामा बसे। २०८१ फागुन २९ गते उनी धरौटीमा रिहा भए। प्राप्त विवरणअनुसार उनले ११ लाख रुपैयाँ धरौटी बुझाएका थिए। उनका छोरा मनोज रजक पाँच लाख र श्रीमती लिलम रजक सात लाख रुपैयाँ धरौटीमा रिहा भएको विवरण पनि आएको छ।

धरौटीमा छुटेपछि रजकविरुद्धको पुरानो मुद्दा सप्तरी जिल्ला अदालतमा विचाराधीन रह्यो। त्यही मुद्दाको अन्तिम टुंगो लाग्न बाँकी रहेकै बेला उनीविरुद्ध फेरि ठगीको उजुरी परेको छ। नयाँ उजुरीपछि भएको पक्राउले उनीसँग जोडिएको पुरानो ठगी प्रकरण र त्यसको अनुसन्धानमाथि पुनः चासो बढाएको छ।

रजकविरुद्धको पुरानो मुद्दा अझै अदालतमा विचाराधीन छ। नयाँ उजुरीमा प्रहरीले अनुसन्धान अघि बढाइरहेको छ। अब अनुसन्धानले नयाँ उजुरीको वास्तविकता, सम्भावित अन्य पीडित, रकमको कारोबार र पुरानो मुद्दासँगको सम्बन्ध कस्तो देखाउँछ भन्ने महत्वपूर्ण हुनेछ।

‘पैसा डबल’ गरिदिने प्रलोभनमा परेर रकम गुमाएको दाबी गर्ने पीडितले न्याय पाउँछन् कि यो प्रकरण फेरि उजुरी, धरौटी र मिलापत्रको चक्रमा अल्झिन्छ? यसको जवाफ प्रहरी अनुसन्धान र अदालतको प्रक्रियाले दिनुपर्नेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट