ममताको शव आराले काटेर फ्याँकेको नरेशद्वारा स्वीकार, हत्या अस्वीकार गर्दै आत्महत्याको दाबी

काठमाडौँ– अमेरिकाको भर्जिनियामा नेपाली मूलकी नर्स ममता काफ्ले भट्टको बेपत्ता तथा हत्या प्रकरणमा उनका श्रीमान् नरेश भट्टले अदालतमा चकित पार्ने बयान दिएका छन्। उनले ममताको शव आराले काटेर टुक्राटुक्रा पारेको र घरको फोहोर फाल्ने कन्टेनरमा फालेको स्वीकार गरेका छन्। तर, ममताको हत्या आफूले नगरेको जिकिर गर्दै उनले आत्महत्याका कारण मृत्यु भएको दाबी गरेका छन्।

अदालतमा बयान दिने क्रममा ३९ वर्षीय नरेशले सन् २०२४ जुलाई ३० को बिहान ममतालाई घरको मुख्य बेडरुममा मृत अवस्थामा फेला पारेको बताएका छन्। उनका अनुसार अघिल्लो रात उनी मुख्य बेडरुमभन्दा केही पर रहेको अर्को कोठामा सानी छोरीसँग सुतेका थिए।

भोलिपल्ट बिहान करिब ४ बजे बाथरुम प्रयोग गर्न मुख्य बेडरुम पुगेका बेला ममता भुइँमा लडिरहेको अवस्थामा भेटिएको उनको दाबी छ। नरेशले ममतालाई होसमा ल्याउन ४५ मिनेटदेखि एक घण्टासम्म प्रयास गरेको बताए। त्यसपछि उनको शरीर घिसार्दै बाथरुमसम्म पु¥याएर पानी खुवाउने प्रयास गरेको तर कुनै प्रतिक्रिया नआएको उनको भनाइ छ।

उनका अनुसार ममता उत्तानो परेर भुइँमा लडेकी थिइन्। नजिकै बान्ता थियो, बान्तामा केही औषधीका चक्की देखिएका थिए र चक्कीको बट्टासँगै कीटनाशक विषादीका खोल पनि थिए। यही आधारमा उनले ममताले आत्महत्या गरेको दाबी गरेका हुन्।

तर, ममता बेहोस वा मृत अवस्थामा भेटिएपछि तत्काल प्रहरी वा आपत्कालीन सेवा ९११ मा खबर नगरेको विषयमा अदालतमा उनलाई प्रश्न गरिएको थियो। आफ्नै पक्षका वकिलले ९११ मा किन फोन नगरेको भनेर सोध्दा नरेशले आफू अत्यन्तै डराएको र आत्तिएको जवाफ दिए। उनले फोन गर्ने प्रयास गरेको दाबी गरे पनि किन आपत्कालीन सेवामा सम्पर्क गर्न सकेनन् भन्ने प्रश्नको स्पष्ट जवाफ दिन सकेनन्।

ममताले आत्महत्या गरेको अवस्थामा आफूलाई दोषी ठह¥याइने डर लागेको थियो कि भन्ने प्रश्नमा भने उनले स्वीकारोक्तिसहित जवाफ दिए। उनले आफूलाई त्यस्तो डर लागेको बताएका छन्।

शव लुकाउन सामान खोज्न होम डिपो पुगेको दाबी
नरेशको बयानअनुसार ममतालाई मृत अवस्थामा फेला पारेपछि उनले बालबालिका हेर्ने व्यक्तिलाई सन्देश पठाए र छोरीलाई उनको घरमा छाडेर सामान किन्न होम डिपो पुगे। त्यहाँबाट शव व्यवस्थापनका लागि आवश्यक सामान खोजेको उनको भनाइ छ। तर, पन्जा किन किनेको भन्ने प्रश्नमा उनले स्पष्ट जवाफ दिन सकेनन्।

उनले ममताको शवलाई घरमै राखेर करिब डेढ दिनसम्म टुक्राटुक्रा पारेको स्वीकार गरेका छन्। शवको आकार घटाउन आराको प्रयोग गरेको र केही मात्रामा चक्कु पनि प्रयोग गरेको उनले अदालतमा बताए।

शव टुक्रा पारेपछि फोहोरको झोलामा राखेर घरको फोहोर फाल्ने कन्टेनरमा फ्याँकेको उनको दाबी छ। अदालतमा सरकारी पक्षले प्रस्तुत गरेका भिडियोमा नरेश पन्जा लगाएर विभिन्न फोहोर फाल्ने स्थानमा धेरैवटा झोला फ्याँकिरहेको देखिएको थियो। तर, नरेशले ती झोलामा ममताको शरीरका अवशेष नभई आफ्ना व्यक्तिगत सामान रहेको दाबी गरेका छन्।

ममताको शव अहिलेसम्म फेला परेको छैन। त्यसैले नरेशले शव कहाँ र कसरी विसर्जन गरे भन्ने विषय पनि अनुसन्धान तथा मुद्दाको महत्वपूर्ण पाटो बनेको छ।

हत्या अस्वीकार, सम्बन्धमा तनाव रहेको स्वीकार
नरेशले ममताको मृत्युमा आफ्नो संलग्नता अस्वीकार गर्दै आए पनि वैवाहिक सम्बन्धमा तनाव रहेको भने अदालतमा स्वीकार गरेका छन्। यसअघि नोभेम्बर ४ मा भएको बयानका क्रममा उनले आफूले ममतामाथि कहिल्यै शारीरिक हिंसा नगरेको दाबी गरेका थिए। तर, भावनात्मक तथा मानसिक तनाव दिने गरेको भने स्वीकार गरेका थिए।

सरकारी वकिल ट्रेसी लेनोक्सले ममता बेपत्ता हुनुभन्दा केही महिनाअघिका उनीहरूबीचका टेक्स्ट म्यासेज प्रस्तुत गर्दै शारीरिक हिंसाको धम्कीबारे प्रश्न गरेकी थिइन्। जवाफमा नरेशले शारीरिक हिंसा नगरेको तर ममतालाई मानसिक तनाव दिएको बताएका थिए।

उनका अनुसार सन् २०२४ को सुरुवातदेखि दम्पतीबीच दैनिकजसो विवाद हुन थालेको थियो। आफूले सम्बन्धविच्छेद गर्ने धम्की दिने र ममताले आत्महत्या गर्ने धम्की दिने गरेको नरेशको दाबी छ। विवाहका सुरुका दुई वर्ष सम्बन्ध राम्रो रहे पनि पछि परिस्थिति बिग्रिएको उनले अदालतमा बताएका छन्।

छोरी जन्मिएपछि ममताको व्यवहार बदलिएको नरेशको दाबी
नरेशले ममतासँगको चिनजानदेखि वैवाहिक जीवनसम्मका प्रसंग पनि अदालतमा सुनाएका छन्। उनका अनुसार सन् २०२० मा फेसबुकमार्फत ममतासँग चिनजान भएको थियो। नेपालमा अर्की युवतीसँग विवाह गर्ने तयारी चिना नमिलेका कारण रोकिएपछि ती युवतीकी रुममेट ममतासँग उनको सम्पर्क भएको थियो। करिब दुई साताको कुराकानीपछि उनीहरूले विवाह गर्ने निर्णय गरेका थिए।

विवाहपछि पारिवारिक सहमतिमा ममतालाई अमेरिका ल्याइएको नरेशको भनाइ छ। उनका अनुसार दुईपटक गर्भपतन भइसकेपछि ममताले सन् २०२३ अगस्टमा छोरी जन्माएकी थिइन्। छोरी जन्मिएपछि ममताको व्यवहारमा परिवर्तन आएको उनले दाबी गरेका छन्।

ममता दिनभर सुत्न खोज्ने, सामान्य कुरामा पनि झर्किने र आफूले राति खोक्दा, शौचालय फ्लस गर्दा वा बत्ती बाल्दासमेत चिढिने गरेको नरेशले बताएका छन्। उनले अहिले फर्केर हेर्दा ममतालाई प्रसवपछिको डिप्रेसन भएको हुन सक्ने आफूलाई लागेको बताए। तर, आफू दुईवटा जागिरमा दैनिक १६ देखि १७ घण्टासम्म व्यस्त रहने भएकाले त्यसलाई गम्भीरतापूर्वक बुझ्न नसकेको उनको भनाइ छ।

यो नरेशको अदालतमा प्रस्तुत गरेको दाबी हो। ममताको मानसिक स्वास्थ्यबारे उनको भनाइ स्वतन्त्र रूपमा पुष्टि भएको तथ्य होइन।

काममा नआएपछि खुल्यो ममता बेपत्ता भएको घटना
ममता भर्जिनियास्थित यूभीए हेल्थ प्रिन्स विलियम मेडिकल सेन्टरमा नर्सका रूपमा कार्यरत थिइन्। सन् २०२४ अगस्ट १ मा उनी काममा उपस्थित नभएपछि सहकर्मीहरूले उनको अवस्थाबारे चासो व्यक्त गरेका थिए। त्यसपछि प्रहरी ममता र नरेश बस्दै आएको घरमा पुगेको थियो।

नरेशले प्रहरीसँग ममता जुलाई २९ मा अन्तिमपटक देखिएको र उनी घर छाडेर जान चाहेको बताएका थिए। सम्बन्धविच्छेदको कुरा पनि भइरहेको उनको दाबी थियो। उनले अगस्ट ५ मा ममता हराएको औपचारिक उजुरी दिएका थिए। तर, सानी छोरीलाई घरमै छाडेर कुनै खबर नगरी ममता बेपत्ता भएको कुरामा परिवार र साथीहरूले विश्वास गरेका थिएनन्।

प्रहरी अनुसन्धानपछि सन् २०२४ अगस्ट २२ मा नरेश पक्राउ परेका थिए। उनीमाथि प्रथम तहको हत्या, शव लुकाएको र शवको अपमान गरेको अभियोग लागेको छ। अभियोजन पक्षले नरेशले ममताको हत्या गरेर शव नष्ट गरेको आरोप लगाउँदै आएको छ।

तर, नरेशले अदालतमा शव टुक्रा पारेको र फोहोरमा फ्याँकेको स्वीकार गरे पनि हत्या गरेको आरोप अस्वीकार गरेका छन्। ममताको मृत्यु आत्महत्याका कारण भएको उनको जिकिर छ। मुद्दामा नरेशको बयान र अभियोजन पक्षले प्रस्तुत गरेका प्रमाणबीचको विरोधाभास अब निर्णायक बहसको विषय बन्ने देखिन्छ। शवसमेत फेला नपरेको अवस्थामा ममताको मृत्यु कसरी भयो र त्यसमा नरेशको भूमिका के थियो भन्ने अन्तिम निष्कर्ष अदालतको फैसलाले निर्धारण गर्नेछ। मुद्दाको फैसला आइसकेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट