सिरहामा विद्युत प्राधिकरणको ट्रकसँग मोटरसाइकल ठोक्कियो, दुई जनाको मृत्यु

लहान– सिरहामा नेपाल विद्युत् प्राधिकरणको ट्रक र मोटरसाइकल ठोक्किँदा दुई जनाको ज्यान गएको छ। बिहीबार बिहान भएको दुर्घटनामा मोटरसाइकलमा सवार दुवै पुरुषको मृत्यु भएको हो।

सिरहा नगरपालिका–११ भलुवाहीस्थित चौहर्वा–सिरहा सडकखण्डमा बिहान करिब १० बजे ना.१ घ.५५३ नम्बरको ट्रक र स.९ प.७६५० नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए।

चौहर्वाबाट सिरहातर्फ जाँदै गरेको विद्युत प्राधिकरण मधेश प्रदेश प्रादेशिक कार्यालय जनकपुरको ट्रक र सिरहाबाट चौहर्वातर्फ आउँदै गरेको मोटरसाइकल ठोक्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय सिरहाले जनाएको छ।

दुर्घटनामा गम्भीर घाइते भएका मोटरसाइकलका दुवै सवारलाई उपचारका लागि प्रादेशिक अस्पताल सिरहा पु¥याइएको थियो। तर चिकित्सकले उनीहरूलाई मृत घोषणा गरेका थिए।

मृतक दुवैको पहिचान खुलेको छैन। उनीहरूका आफन्तको खोजी तथा सनाखतको प्रयास भइरहेको प्रहरीले जनाएको छ। दुर्घटनापछि ट्रक चालक फरार छन्। उनको खोजी भइरहेको र दुवै सवारीसाधनलाई प्रहरी कार्यालय ल्याउने प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट