जग्गा नामसारीका लागि एक लाख घुस ! भूमि प्रशासन कार्यालय सर्लाहीका नायब सुब्बा पक्राउ

सर्लाही– आफ्नै जग्गाको स्वामित्वसम्बन्धी काम गराउन सरकारी कार्यालय पुगेका सेवाग्राहीसँग घुस मागिएको आरोपपछि सर्लाहीको भूमि प्रशासन कार्यालयका नायब सुब्बा अख्तियारको टोलीबाट पक्राउ परेका छन्।

मोही कायम भएका जग्गा नामसारी गरिदिने भन्दै एक लाख रुपैयाँ लिइसकेको अवस्थामा सर्लाहीको मलंगवास्थित भूमि प्रशासन कार्यालयका सुब्बा निर्मल तिमलसिनालाई वुधबार अख्तियारको टोलीले पक्राउ गरको हो।

मोही कायम भएका जग्गा नामसारी गराउने कामका लागि सेवाग्राहीसँग एक लाख रुपैयाँ घुस लिएको आरोपमा उनलाई नियन्त्रणमा लिईएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।

अख्तियारका अनुसार सेवाग्राहीसँग घुस मागिएको भन्ने सूचना र उजुरीका आधारमा अख्तियारको कार्यालय बर्दिवासबाट खटिएको टोलीले तिमलसिनालाई नियन्त्रणमा लिएको हो।

उनको साथबाट एक लाख रुपैयाँ बरामद भएको छ। विहिबार विशेष अदालतको आदेशबाट उनीमाथि अनुसन्धानका लागि म्याद थप गरिएको अख्तियारका प्रवक्ता सुरेश न्यौपानेले जारी गरेको विज्ञप्तिमा उल्लेख छ।

मोहीसम्बन्धी विषय नागरिकका लागि संवेदनशील हुन्छन्। यस्ता काममा प्रक्रियागत जटिलता र कार्यालयको ढिलासुस्तीले सेवाग्राहीलाई कर्मचारीको तजबिजमा निर्भर बनाउने जोखिम रहन्छ।

तर यो प्रकरणमा एक लाख रुपैयाँ कसरी मागियो, कसले घुसको रकम तय गर्‍यो र नामसारी प्रक्रियामा कुन तहको संलग्नता थियो भन्ने विस्तृत विवरण अख्तियारले सार्वजनिक गरेको छैन। आयोगले दिएको जानकारीअनुसार अहिले अनुसन्धान अघि बढाइएको छ।

सरकारी कार्यालयमा सेवा दिन बसेका कर्मचारी नै सेवाग्राहीसँग घुस लिएको आरोपमा पक्राउ पर्नु सार्वजनिक सेवा प्रवाहमाथिको गम्भीर प्रश्न हो। अख्तियारको अनुसन्धानले यो घटनाको वास्तविकता र सम्भावित संलग्नता खुलाउनेछ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट