रविले भने– ‘सीडीओदेखि एसपीसम्म हाम्रै हातमा छन्’, अशिका भन्छिन– ‘सांसदलाई इन्सल्ट!, काम गराउन खोज्दा हस् हजुर मात्रै’

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद अशिका तामाङले पार्टी सभापति रवि लामिछानेले सत्ता र प्रशासनिक संयन्त्रबारे दिएको अभिव्यक्ति स्मरण गराउँदै सरकारको कार्यशैलीप्रति असन्तुष्टि जनाएकी छिन्।

धेरै सिट जितेपछि पार्टीभित्र उन्माद देखिएको र सीडीओदेखि प्रहरीका उच्च अधिकारीसम्म आफ्नै नियन्त्रणमा रहेको भन्ने नेतृत्वको भनाइ सुनिए पनि जनताका दैनिक समस्या समाधानमा प्रशासनले गति नदेखाएको उनको गुनासो छ।

तामाङका अनुसार सभापति लामिछानेले भनेका थिए, ‘धेरै सिट ल्याएर हामी उन्माद भयौँ, सीडीओ पनि हाम्रै हातमा छ, डीएसपी पनि अनि एसपी पनि।’ तर व्यवहारमा भने सांसदहरूले प्रशासनिक निकायलाई आग्रह गर्दा पनि काम समयमै हुन नसकेको उनको अनुभव छ।

उनले नरम भाषामा छिटो काम गरिदिन आग्रह गर्दा होस् वा ढिलासुस्तीप्रति आक्रोश व्यक्त गर्दा, सम्बन्धित अधिकारीबाट आउने जवाफ एउटै हुने गरेको बताएकी छिन– ‘हस् हजुर।’ तामाङले आफूले सांसदको हैसियतमा जनताको समस्या लिएर सम्बन्धित निकाय धाउँदा भोग्नुपरेको अवस्थालाई सार्वजनिक गरेकी हुन्।

उनका अनुसार कुनै काम दुई दिनमै हुनुपर्ने भए पनि दुई महिनासम्म अल्झिने गरेको छ। सांसद आफैँले पनि सबै काम गर्न सक्ने अधिकार नहुने भएकाले प्रशासनिक संयन्त्रको सहयोग आवश्यक पर्ने उनको भनाइ छ।

उनले जनताका समस्या लिएर प्रशासनमा पुग्दा सांसदको आग्रहलाई गम्भीरतापूर्वक नलिइएको गुनासो गरेकी सछन्। ‘लौन, छिटो काम गरिदिनुप¥यो’ भनेर विनम्रतापूर्वक भन्दा पनि सुनुवाइ नहुने र ढिलासुस्तीबारे आक्रोशित भएर प्रश्न गर्दा पनि व्यवहार नफेरिने उनको अनुभव छ।

तामाङले विशेषगरी प्राकृतिक स्रोतको दोहन र सडक सुरक्षासम्बन्धी समस्या अझै नियन्त्रणमा आउन नसकेको उल्लेख गरेकी छिन्। खोला झर्दा गिट्टी–बालुवाको तस्करी नरोकिएको, पहाड जाँदा ढुंगा चोरी गर्ने ठेकेदारलाई नियन्त्रण गर्न नसकिएको र सडकमा सवारी चलाउँदा गाडी चिप्लिएर दुर्घटना हुने अवस्था कायमै रहेको उनको भनाइ छ।

उनका अनुसार चुनावमा जनताले परिवर्तन र परिणामको अपेक्षा गरेका थिए। तर स्थानीय तहदेखि प्रशासनिक निकायसम्म देखिने समस्यामा तत्काल सुधार नआउँदा नागरिकको असन्तुष्टि बढिरहेको छ।

तामाङले जनताको अपेक्षा र सांसदहरूले भोगिरहेको व्यवहारबीचको विरोधाभासलाई आफ्नो अभिव्यक्तिमा जोड दिएकी छिन्। जनतालाई आजको भोलि परिणाम चाहिएको छ, तर समस्या समाधानका लागि सम्बन्धित निकायमा पुग्दा सांसदहरूले सम्मान र सहकार्यको सट्टा अपमानजनक व्यवहार भोग्नुपरेको उनको गुनासो छ।

उनले आफ्नो असन्तुष्टि व्यक्त गर्दै भनेकी छिन्, ‘जनतालाई चाहिएको छ आजको भोलि रिजल्ट अनि हरेक दिन हामी सांसदहरूले भोगिरहेका छौँ मात्र इन्सल्ट।’ तामाङको अभिव्यक्तिले सत्तारूढ दलका सांसद र प्रशासनिक संयन्त्रबीचको समन्वय तथा कामको गति सम्बन्धी प्रश्न सार्वजनिक गरेको छ।

पार्टी नेतृत्वले प्रशासनिक संयन्त्र आफ्नो नियन्त्रणमा रहेको दाबी गर्ने तर जनप्रतिनिधिले उठाएका समस्या समाधानमा ढिलाइ हुने अवस्था किन देखिएको छ भन्ने प्रश्न यसले उठाएको छ। यद्यपि, तामाङले उल्लेख गरेका ढिलासुस्ती र तस्करीसम्बन्धी विषयमा कुन जिल्ला वा कार्यालयले कति समयदेखि काम रोकेको हो भन्ने विस्तृत विवरण उनको अभिव्यक्तिमा खुलाइएको छैन।

उनले सार्वजनिक गरेको गुनासो भने जनप्रतिनिधिले जनताको अपेक्षाअनुसार परिणाम दिलाउन प्रशासनसँग गर्नुपरेको संघर्षतर्फ केन्द्रित छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट