इटहरीमा केही मिनेटकै अन्तरमा श्रीमान–श्रीमतीको मृत्यु, ५० वर्ष नपुग्दै दुवैको निधन

इटहरी– सुनसरीको इटहरी उपमहानगरपालिका–७ मा केही मिनेटको अन्तरमा श्रीमान–श्रीमतीकै मृत्यु भएको छ। निर्माण मजदुरी गर्दै आएका स्थानीय रामु चौधरी र उनकी श्रीमती कञ्चन चौधरीको छोटो समयको अन्तरमा मृत्यु भएको हो।

स्थानीयका अनुसार रामु चौधरी घर निर्माणको काममा खटिएका बेला अचानक असहज महसुस भएपछि काम छाडेर घर फर्किएका थिए। घर पुगेपछि पनि उनको स्वास्थ्य अवस्था सहज भएन। आफूलाई सञ्चो नभएको भन्दै उनले श्रीमती कञ्चनलाई समेत जानकारी गराएका थिए।

तर, स्वास्थ्यमा समस्या देखिए पनि उनीहरू तत्काल अस्पताल गएनन्। घरमै रहेका बेला रामुको अचानक मृत्यु भएको स्थानीयले बताएका छन्। श्रीमानको मृत्यु भएपछि शोकमा रहेकी कञ्चनको पनि केही मिनेटकै अन्तरमा मृत्यु भएको स्थानीयको भनाइ छ। एकपछि अर्को गरी श्रीमान–श्रीमती दुवैको मृत्यु भएपछि परिवार र छिमेकीहरू स्तब्ध भएका छन्।

घटनाबारे जानकारी पाएपछि स्थानीय वडावासी मृतकको घरमा भेला भएका थिए। स्थानीय बासिन्दा भिनेश्वर खवासका अनुसार रामु र कञ्चन दुवैको उमेर ५० वर्षभन्दा कम थियो। सामान्य मजदुरी गरेर जीविका चलाउँदै आएका दम्पतीको असामयिक निधनले इटहरी–७ मा शोक छाएको छ।

केही मिनेटको अन्तरमा एउटै परिवारका श्रीमान–श्रीमतीको मृत्यु भएको घटनाले स्थानीयलाई मर्माहत बनाएको छ। दुवैको मृत्युको वास्तविक कारण भने अहिलेसम्म खुलेको छैन।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

लोकप्रिय

ताजा अपडेट